यी हुन् आगामी राष्ट्रपति चुनावमा ४ महिला उम्मेदवार


प्रकाशित मिति : माघ ७, २०७५ सोमबार

अमेरिकी राष्ट्रपतिको आगामी चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारीको घोषणा गर्ने महिलाहरुको संख्या ४ पुगेको छ । एलिजाबेथ वारेन, कमला ह्यारिस, तुल्सी गब्बाड र क्रिस्टेन जिलीब्राण्डले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

उनीहरुले डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावमा जितेपछिमात्र सन् २०२० को नोभेम्बरमा हुने राष्ट्रपतिको अन्तिम चुनावमा प्रतिस्पर्धा गर्न पाउनेछन् । प्राइमरी चुनावबाट डेमोक्रेटिक पार्टीका तर्फबाट एकजनामात्र उम्मेदवार छानिनेछ ।

अमेरिकाको मासाचुसेट्सबाट अमेरिकी सिनेटमा प्रतिनिधित्व गर्ने एलिजाबेथ  वारेनले डिसेम्बरमा नै चुनाव लड्ने घोषणा गरेकी हुन् । ओक्लोहोमा मध्यमबर्गीय परिवारमा जन्मिएकी वारेन अमेरिकी राजनीतिमा प्रभावशाली महिला हुन् ।

त्यस्तै अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी कमला ह्यारिस क्यालिफोर्नियाबाट सिनेटमा प्रतिनिधित्व गर्छिन् । उनले क्यालिफोर्नियाको एटर्नी जनरलका रुपमा कमलाले ६ बर्ष बिताएकी थिइन् । सन् २०१० मा क्यालिफोर्नियाको एटर्नी जनरलको दौड जित्नु अगाडि उनी सान फ्रान्सिस्कोको डिस्ट्रिक्ट एटर्नीमा दुईपटक निर्वाचित भएकी थिइन् ।

क्रिमिनल जस्टिस रिफर्म रेकर्डकी अभियन्ता कमलाले बैबाहिक समानताको लडाईमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेकी थिइन् । कमला अमेरिकी सिनेटरमा निर्वाचित दोश्रो अश्वेत महिला हुन् । सन् १९९२ मा चुनाव जितेकी सिनेटर क्यारल ब्राउन पहिलो अश्वेत महिला सिनेटर हुन् ।

कमला अमेरिकी सिनेटमा पुग्ने पहिलो भारतीय अमेरिकन हुन् । कमलाकी आमा भारतबाट अमेरिकामा बसाई सरेकी थिइन् । कमलाकी आमा श्यामला गोपालन चर्चित स्तन क्यान्सर विशेषज्ञ हुन् । त्यसपछि उनले अमेरिकी अश्वेत जमैकन अमेरिकन डोनाल्ड ह्यारिससँग विवाहगरेपछि कमला जन्मिएकी थिइन् । यसर्थ कमला अहिले अफ्रिकन अमेरिकन र इन्डियन अमेरिकनका रुपमा चर्चित छिन् ।

त्यस्तै अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी न्युयोर्क सिनेटर क्रिस्चेन जिलीब्राण्ड सन् २००९ देखि न्युयोर्क राज्यबाट अमेरिकी सिनेटरमा रहदै आएकी छिन् ।

जिलीब्राण्ड राष्ट्रपतिमा उम्मेदवारीको घोषणा गर्ने पछिल्लो हाइप्रोफाइल डेमोक्र्याट हुन् । डेमोक्रेटिक पार्टीभित्र बामपन्थी धारका रुपमा परिचित उनले बर्नी स्याण्डर्सको मेडिकेयर फर अल नामको बिलको को स्पोन्सर समेत गरेकी थिइन् ।

सन् २००९ मा हिलारी क्लिन्टन अमेरिकी विदेशमन्त्रीमा नियुक्त भइसकेपछि उनको स्थानमा जिलीब्राण्डलाई सिनेटमा नियुक्त गरिएको थियो । पछि सन् २०१० मा विशेष निर्वाचन जितेर उनले क्लिन्टनको बाँकी कार्यकाल पूरा गरेकी थिइन् ।

सन् २०१२ मा अमेरिकी सिनेटरका रुपमा निर्वाचित भएपछि ६ बर्षे कार्यकाल पूरा गरेकी उनले गत चुनावमा पुन निर्वाचित भएर सिनेटरमा ६ बर्षे कार्यकाल सुरुवात गरेकी छिन् । ५२ बर्षकी जिलीब्राण्डलाई बलियो राष्ट्रपति उम्मेदवारका रुपमा हेरिएको छ ।

महिला हिंशाबिरुद्ध आवाज उठाउदै आएकी उनलाई संसदसम्म मि टु मुभमेन्ट लैजाने नेतृत्वदायी आवाजका रुपमा समेत चिनिन्छ । सिनेटर अल फ्यांकेनले महिलामाथि दुब्र्यबहार गरेको सार्वजनिक भएपछि राजिनामा दिन माग गर्ने पहिले सिनेटर पनि उनै थिइन् ।

त्यस्तै अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी अमेरिकी संसदमा पहिलो हिन्दु सदस्य तुल्सी गवार्ड हवाईबाट अमेरिकी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छिन् । तुल्सी गवार्ड हाल प्रतिनिधिसभाको विदेश मामला समितिमा छिन् ।

इराक युद्धकी भेट्रान गब्बार्डले स्वास्थ्य सुविधामा पहुच, आपराधिक न्याय प्रणालीमा सुधार र मौसम परिवर्तन लगायतका विषय उठाएर चुनाव लड्ने बताएकी छिन् ।

सन् २०१६ को चुनावमा बर्नी स्याण्डर्सकी कार्यकारी चुनावी प्रबन्धक रानिया ब्याटराइस अहिले गब्बार्डकी प्रमुख सहयोगी छिन् । तुल्सी गब्बार्डले अमेरिकी संसदमा सपथग्रहण गर्दा भागवत गीता छोएर सपथ लिएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com