ग्रिनकार्ड लगायतका आवेदन फिर्ता हुन नदिन युएससीआईएसले ल्यायो नयाँ टुल


प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार

आवेदकले गलत शुल्क पठाएका कारण युएससीआईएसले आवेदन फिर्ता गर्नुपर्ने अवस्था आइरहेको सन्दर्भमा यसलाई रोक्न युएससीआईएसले नयाँ टुलको विकाश गरेको छ । अब आवेदकले उक्त टुलमार्फत आफूले फाइल गर्न लागेको आवेदनका लागि लाग्ने उचित शुल्क सहजै थाहा पाउन सक्नेछन् ।

उचित शुल्कको समस्याका कारण आवेदनहरु फिर्ता हुने क्रम कम गर्न नयाँ टुलको विकाश गरिएको युएससीआईएसले जनाएको छ । अनलाइन क्याल्कुलेटरले कुन आवेदनका लागि आवेदन शुल्क कति, बायोमेट्रिक शुल्क कति वा अन्य शुल्क कति सम्पूर्ण विवरण सेकेण्डभरमा नै तयार पार्नेछ ।

आर्थिक बर्ष २०१७ मामात्र युएससीआईएसले ११ मिलियन भन्दा धेरै आवेदनहरुको प्रकृया अगाडि बढाएको छ । युएससीआईएसले प्रारम्भिक रुपमा आवेदन नै अस्वीकृत गरेर फिर्ता पठाउनुपर्नाको मुख्य कारण भने शुल्क नै रहदै आएको छ । आवेदकले गलत शुल्क पठाउँदा त्यस्ता आवेदन युएससीआईएसले प्रकृयामा लैजान नै अस्वीकार गर्दै आएको छ ।

नयाँ टुल हेर्न र शुल्क हिसाब गर्न यहाँ क्लिक गर्नुहोला ।

अनलाइन शुल्क क्याल्कुलेटरमा तपाईले सुरुमा आफूले भर्न चाहेको फर्म छनौट गर्नुपर्छ । त्यसपछि केही थान प्रश्नहरुको जवाफ दिएपछि युएससीआईएसले तपाईलाई सम्पूर्ण प्याकेजको शुल्क प्रदान गर्नेछ । मोबाइल र डेस्कटप दुबैमार्फत प्रयोग गर्ने सकिने यो टुलको प्रयोग गर्ने प्रयोगकर्ताको गोप्यताको संरक्षणका लागि कुनै पनि डाटा युएससीआईएसले संकलन नगर्ने स्पष्ट पारेको छ ।

यो टुलले युएससीआईएसको लकबक्स फेसिलिटीमा प्रकृयामा जाने हरेक फर्मको शुल्क हिसाब गर्नेछ ।

युएससीआईएसले आफ्नो शुल्क मनी अर्डर, चेक र क्रेडिटकार्ड लगायतका विधिबाट लिदै आएको छ । विभिन्न ४१ प्रकारका फर्मममा युएससीआईएसले क्रेडिट कार्डमार्फत समेत शुल्क स्वीकार्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com