सांसदले आफन्तलाई पिए राखेकोमा प्रधानमन्त्रीलाई गुनासो छैन, समाचार लेखेकोमा भने आपत्ति


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

संघ र प्रदेशका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको तथा सांसदले आफन्तलाई शाखा अधिकृतसरहको सुविधा हुने स्वकीय सचिवमा नियुक्त गरेको समाचारप्रति प्रधानमन्त्री केपी ओलीले आपत्ति प्रकट  गरेका छन् ।

मन्त्री र सांसदको स्वेच्छाचारी कामबारे प्रधानमन्त्रीको कुनै गुनासो छैन, समाचार आएकोमा भने चर्को आपत्ति छ । त्यस्ता समाचारले अतिवादलाई मलजल गर्ने तथा प्रतिगमन निम्त्याउने उनको भनाइ छ ।

आइतबार संघीय संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा पुरुष सांसदहरूले सुत्केरीको औषधि खाएको समाचार आउँदा असोज १८ र माघ १९ निम्तिएको दाबीसमेत गरे । राष्ट्रपतिका लागि गाडी खरिद र कार्यालय विस्तारको विरोध गर्नु लोकतन्त्र धराशयी बनाउनु भएको उनको भनाइ छ ।

‘अहिले त्यो तीर संघीय संसद्, प्रदेश र स्थानीय तहतर्फ सोझिएको छ । कुनै समय रक्तअल्पताको औषधि सेवन गर्ने सांसदलाई लक्षित गर्दै सुत्केरीको औषधि खायो, पुरुष सांसद सुत्केरी भयो भन्ने अफवाह फैलाइयो । त्यस्ता हर्कतबाट संसद् कति बदनाम भयो र अतिवादलाई कसरी मलजल ग-योे ? ती हर्कत असोज १८ र माघ १९ को तयारी थियो भन्नेमा हामी सबै स्पष्ट नै छौँ ।’

प्रधानमन्त्री ओलीले न दोहोरो सुविधा लिने मन्त्रीहरूलाई कारवाही गर्ने प्रतिवद्धता जनाउन सके, न परिवारका सदस्यलाई स्वकीय सचिव नियुक्त गर्नु नैतिक रुपमा बेठिक भएको भन्न सके । बरु, त्यस्ता समाचार लेख्नु लोकतन्त्रमाथिको हमला भएको  खबर आजको नयाँ पत्रिकामा छ ।

‘अहिले सबै सांसदलाई ठग, लुच्चा र तेलचोरका रूपमा चित्रित गर्दै चालक तथा निजी सहयोगीको भत्तासमेत हसुर्ने जस्तोगरी प्रचारप्रसार भइरहेको छ । जानेर होस् वा नजानेर, यसरी सांसदमाथि भएको हमला व्यक्तिमाथिको हमला मात्रै हैन, प्रकारान्तरमा लोकतन्त्रमाथिको हमला हो । होस गरौँ,’ उनको भनाइ छ ।

संसद् सचिवालयले कुनै त्रुटि गरेको भए सच्याउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले एउटाले बिराउँदा सिंगो संस्था बदनाम हुनेमा सचेत हुनुपर्ने बताए । ‘घुँडा चुसेर अघाइन्न भन्ने लोकोक्ति स्मरण गरौँ । व्यक्ति त आउँछन् जान्छन्, संस्थाको साख र मर्यादामाथि आँच आए हाम्रो लोकतन्त्र अप्ठ्यारोमा पर्छ । आँच आउन नदिऊँ, पुरानो घटनाको पुनरावृत्ति हुनबाट जोगिऊँ, जोगाऊँ,’ उनले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com