नेकपाको सचिवालय बैठक अपराह्न ४ बजे बस्दै


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ । अपराह्न ४ बजे बस्ने बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने एक श्रोतले बताएकाे छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बने पनि सांगठनिक अलमलको अवस्था छ । पार्टी केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन भने तल्ला कमिटीको एकता पनि अन्योलमा छ ।

बुधबार मात्रै माधवकुमार नेपाल पक्षीय २१ केन्द्रीय सदस्यले एकता अन्योलमा परेको भन्दै केन्द्रीय समिति बैठक बोलाउन ज्ञापनपत्रमार्फत् अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग माग गरेका थिए । बिहीबार बस्ने नेकपा बैठकमा यीलगायतका सांगठनिक विषयमा छलफल हुने अनुमान गरिएको छ । सरकारको काम–कारबाही पनि आजको छलफलको एजेन्डा हुने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com