उहिलेकी माओवादी लडाकू, अहिलेकी साहसी पर्वतारोही


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

बझाङकी लक्ष्मी बूढाले १५ वर्षअघि तत्कालीन माओवादी विद्रोहीको सेनामा सामेल हुने निर्णय गरिन्। त्यतिबेला उनको उमेर १४ वर्षको मात्र थियो।

सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला उनी माओवादीको सांस्कृतिक विभागमा आबद्ध भइन्। त्यतिबेला आफूले ‘क्रान्तिको सपना’ देखेको उनी बताउँछिन् ।

सुदूरपश्चिमको दुर्गम क्षेत्रमा हुर्किएकी लक्ष्मीलाई आफू माओवादी बन्दा कुनै दिन हिमालमा रुचि हुनेछ भन्ने थाहा थिएन।

‘केही नयाँ गर्ने’ इच्छाले उनी पर्वतारोहण गर्न थालेको बताउँछिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभियान
शान्ति सम्झौताको १० वर्षपछि लक्ष्मी बूढाले हालै मात्र आरोहणका लागि खुला गरिएको साइपाल हिमाल आरोहण अभियान शुरू गरिन्।

लडाकूदेखि पर्वतारोही बन्दासम्मको आफ्नो यात्रा निकै कठिन भएको उनको अनुभव छ।

महिनावारी भएका महिलाले पानी-पधेँरो छुँदा पाप लाग्छ भन्ने मान्यता राख्ने समाजमा हुर्किएको भए पनि आफूले महिनावारी भएकै बेला साइपाल हिमाल आरोहण गर्ने प्रयास गरेको उनी बताउँछिन।

प्रतिकूल मौसमका कारण शिखरमा पुग्न नसके पनि उनले आफ्नो प्रयासलाई नै सफलता मानेकी छन्।

आरोहणका लागि पहिलो पटक खुला गरिएको ७,०३१ मिटर अग्लो साइपाल हिमालको ५,६०० मिटर सम्म पुगेर उनको टोली बिहीवार घर फर्किएको बताइएको छ।

उनले भनिन्, ”छाउ भएका बेला महिलाले धारा, पानी-पधेँरो, नदी आदि छुनु हुँदैन भन्ने कुराले मलाई सधैँ पोल्थ्यो र यी कुरा गलत हुन् भनेर मलाई पुष्टि गर्नु थियो, जुन साइपालमा टेकेर गरेँ।”

आफ्नो पहिलो आरोहण असफल हुनुसँग महिनावारीको कुनै सम्बन्ध नरहेको भन्दै उनी थप्छिन्, “छाउ हुँदा हिमाल चढ्दा के नराम्रो हुन्छ त भन्ने प्रमाण मलाई चाहिएको थियो।”

आत्मविश्वास
टोली नेता समेत रहेकी बूढाका अनुसार प्रतिकूल मौसमका कारण उनको टोलीले आरोहण सम्पन्न गर्न सकेन।

आफ्ना श्रीमान्‌को सहयोगकै कारण सानी छोरीलाई घरमा छाडेर हिमाल चढ्न जान सकेको उनी बताउँछिन्।

पूर्वलडाकू २८ वर्षीया लक्ष्मीका लागि आरोहण नयाँ कुरा थियो। तर अवसर पाएमा जे पनि गर्न सकिने आत्मविश्वास उनमा पलाएको छ।

उनी पुन: हिमाल चढ्न चाहन्छिन् र उनको सपना सगरमाथा चढ्ने छ। हिमाल चढ्ने इच्छा भए पनि आर्थिक चिन्ता भने उनमा छ।

द्वन्द्वकालका बेला धेरै वर्ष राजनीतिका गत‌िविधिमा होमिए पनि अहिले लक्ष्मीलाई आफ्नो परिवार नै सबैभन्दा महत्त्वपूर्ण लाग्छ।

उनलाई कहिलेकाहीँ द्वन्द्वकालमा समय खेर फालें की भनेर पश्चाताप पनि हुन्छ। तर आफू बस्ने समाज परिवर्तनका लागि काम गर्ने उनको भावी योजना छ।

”त्यतिबेला ज्यानको समेत बाजी राखेर युद्धमा होमिइयो। अहिले म बस्ने ठाँउमा बिजुली समेत छैन। तर पनि म समाज परिवर्तनका लागि अझै धेरै गर्न सक्छु।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com