अझै खुलेन डिभी लोटरी, ठगबाट बच्न सुझाव


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

हरेक बर्ष सेप्टेम्बरको दोश्रो साताभित्रै डिभी लोटरी भर्ने अवधि घोषणा गर्ने अमेरिकी सरकारले यो बर्ष भने अझै डिभी लोटरी भर्ने अवधि घोषणा गरेको छैन । हरेक बर्ष अक्टोबरको पहिलो सातादेखि डिभी लोटरी खुल्ने गर्छ भने त्यसको अवधि झण्डै एकमहिना रहने गर्छ ।

तर यसपटक आर्थिक बर्ष २०२० का लागि खुल्ने डिभी लोटरीको अवधि अझै घोषणा गरिएको छैन । गतबर्ष कम्प्युटर प्रणालीमा आएको खराबीका कारण अक्टोबर ३ देखि १० सम्म भरिएका डिभी आवेदन रद्द गरिएको थियो भने अक्टोबर अक्टोबर १८ देखि नोभेम्बर २२ सम्मका लागि डिभी आवेदन दर्ताको नयाँ अवधि तोकिएको थियो ।

अमेरिकी संसदले डिभी लोटरी खारेज गर्ने कुनै कानुन पारित नगरेकाले यो बर्ष पनि सन् २०२० का लागि डिभी लोटरी खुल्ने निश्चित भएको कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभयो । तर डिभी लोटरीको आवेदन दिने अवधि कहिले सुरु हुन्छ भन्नेबारे भने अमेरिकी सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

डिभी लोटरीको अवधि अझै घोषणा नगरिएकाले डिभी भरिदिने भन्दै कसैले ठग्न खोजेमा सचेत रहन अमेरिकी सरकारले सुझाव दिएको छ । डिभी लोटरी भर्ने नाममा व्यक्तिगत विवरणहरुको चोरी हुनसक्ने समेत भएकाले डिभीकै फारम बाहेक अन्यत्र व्यक्तिगत विवरणहरु नदिन समेत सुझाव दिइएको छ ।

डिभी लोटरी भर्ने एकमात्र लिंक यो हो । डिभी लोटरी भर्न र परे नपरेको चेक गर्न यहाँ क्लिक गर्नुहोला ।

गत बर्षको अक्टोबरमा डिभी भरेर आर्थिक बर्ष सन् २०१९ का लागि डिभी परेका विजेताहरुले भने यही अक्टोबर १ देखि भिसा पाउन थाल्नेछन् । तर नेपालीहरुलाई सुरुकै महिनामा भिसामा सिमाबन्दी तोकिएको छ । केसनम्बर ६ सय सम्म हुने नेपालीहरुलेमात्र अक्टोबरमा भिसा पाउनेछन् भने केस नम्बर ११ सयसम्ममात्र हुने नेपालीहरुले नोभेम्बरमा भिसा पाउनेछन् ।

आर्थिक बर्ष २०१८ का लागि डिभी विजेताहरुले भने यही सेप्टेम्बर मसान्तसम्ममात्र भिसा पाउनेछन् । मसान्तभित्र भिसा नपाउने डिभी विजेताहरु भने भिसाका लागि स्वत अयोग्य हुनेछन् । सेप्टेम्बरभित्र ६ हजार ९ सय ५० सम्म केस नम्बर भएका नेपालीहरुलेमात्र अमेरिकाको भिसा पाउनेछन् भने अरु डिभी विजेताहरुले भिसा पाउने छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com