न्युयोर्कको क्वीन्स डायमण्डको दशौं बार्षिकोत्सव, समिर र सूर्यको सफल जोडी


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

१० बर्ष अगाडि १२ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा समिर महर्जन र सूर्य श्रेष्ठ महर्जनको जोडीले खोलेको थियो, क्वीन्स डायमण्ड एण्ड ज्वेलरी स्टोर । १० बर्षको अन्तरालमा क्वीन्स डायमण्ड न्युयोर्कमा त स्थापित र सफल व्यवसायका रुपमा दरिएकै छ मेरिल्याण्ड र क्यालिफोर्निया लगायत अमेरिकाका विभिन्न स्थानमा समेत शाखा विस्तार गर्न सफल भएको छ । युवा व्यवसायी समिर महर्जन र उनकी पत्नी सूर्य श्रेष्ठ महर्जनको मिहिनेत र लगावका कारण यो सम्भव भएको हो भने यही व्यवसायबाट सूर्य श्रेष्ठ महर्जन अमेरिकामा सफल महिला व्यवसायीका रुपमा दरिएकी छिन् ।

पाइलट बन्ने इच्छा भएपनि पुख्र्यौली पेशा ब्यापारमा नै लागेर एउटा सफल हिरा ब्यापारी बन्न सफल भएका हुन् समिर । बाबुआमाको इच्छा पनि समिरलाई पाइलट बनाउने नै थिए । उनी पाइलट पढ्न गएका पनि थिए तर पाइलट नबनेर उनी ब्यापारमा जमे । सन् १९७७ मा ललितपुरको पाटनमा जन्मेका समिरलाई अमेरिकामा सफल ब्यापारीको सुचीमा दरिन लामो संघर्ष गर्नुपरेको थियो । उनले न्युयोर्क आइसकेपछि अमेरिकनको माझमा हिराको स्टोर खोले । तर उनले घाटा भने बेहोर्नुपरेन । उनी भन्छन् –“मलाई श्रीमतिलेमात्र होइन, भाग्यले पनि साथ दियो । ”

बुबा बाबुकाजी महर्जन र आमा अष्टमाया महर्जनका कान्छा छोरा समिर मध्यम बर्गको परिवारमा जन्मिएका थिए । परिवारमा प्राय सबैजना सुनचादीको ब्यापारमा लागेपनि एसएलसी प्रथम श्रेणीमा पास गरेपछि समिरलाई भने पाइलट बनाउने इच्छा थियो, बुबाआमाको । समिर सम्झिन्छन् –“मैले जब एसएलसी प्रथम श्रेणीमा पास गरें तर परिवारमा ठूलो खुशी छायो । बुबाआमाले मलाई ब्यापारमा नलगाई पाइलट बनाउने इच्छा राख्नुभएको थियो । ”

समिरको पनि इच्छा पाइलट बनेर जहाज उडाउने नै थियो । त्यसैले उनी ग्रयाजुएशनपछि पाइलट अध्ययन गर्न बैंगलोर गए । त्यहा उनले झण्डै दुईवर्ष अध्ययन गरे । तर उनी पाइलट बन्न भने सकेनन् । बरु नेपालमा नै फर्केर पुख्र्यौली पेशा ब्यापारमा लागे । २१ वर्षको कलिलो उमेरदेखि नै सुनचादी र हिराको ब्यापारमा लागेका समिर व्यापारको काम सुरु गर्नेताका नै सूर्यसँग बैवाहिक जिवनमा बाधिएका थिए । उनले प्रेमविवाह गरेका हुन् ।

नेपालको सगरमाथा बोर्डिङ स्कुल जाउलाखेलमा नर्सरी कक्षा देखि नै एउटै स्कुलमा पढेपनि ९ कक्षामा पढ्दादेखि उनीहरु प्रेममा परेका रहेछन् । समिर भन्छन् –“मेरो उनीसँग कक्षा ९ मा पढ्दादेखि नै लभ पर्यो । उनीसंग विवाहपछि मलाई विजनेश पनि फाप्यो । ”

विवाह गरेपछि समिर र सूर्याको जेठी छोरीका रुपमा आयुशा महर्जनको जन्म भयो । त्यसपछि चार वर्षको फरकमा अर्की छोरी सामिया महर्जनको जन्म भयो । तेश्रो सन्तानका रुपमा उनको छोरा छ ।

काठमाडौंमा व्यापार गर्दा गर्दै मुम्बईमा ६ वर्ष वसेपछि समिर सन् २००५ मा अमेरिका आएका हुन् ।

अमेरिका आएपछि सुरुमा न्युयोर्कको म्यानहटनमा डायमण्ड स्टोर खोलेका थिए समिरले । एकातर्फ भारतीय र अर्कातर्फ यहुदीको स्टोरका बीचमा उनले स्टोर खोलेका थिए त्यसैले चुनौतीपूर्ण थियो त्यतीबेला । अरु देशका नागरिकहरु आएर नेपाललाई भारतको भाग भनिदिंदा उनको निकै चित्त दुख्थ्यो । समिर भन्छन् –“मैले त्यस्ता व्यक्तिलाई जति व्यस्त भएपनि नेपालको बारेमा चिनाउथें । ”

म्यानहटनपछि उनले नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र क्वीन्सको ज्याक्सनहाइटमा डायमण्ड स्टोर खोले, १० बर्ष अगाडि । त्यसपछि अमेरिकामा उनको हिराको ब्यापार मौलाउदै गयो । अमेरिकामा विभिन्न राज्यमा मात्र होइन, उनको ब्यापार अहिले हङकङ, भारत, जर्मनी र नेपालमा पनि छ ।

समिरलाई हिराको ब्यापारमा पत्नी सूर्या श्रेष्ठ महर्जनको ठूलो साथ रहेको छ । दाजुहरु बाबुराजा, अमिर र भिनाजु कृष्णलाल महर्जन पनि समिरसंगै व्यापारिक पेशामा छन् । ज्वाइन्ट बिजनेशका रुपमा उनीहरुको व्यववशाय चलिरहेको छ । पहिले भिनाजु रमेश महर्जन पनि सामुहिक ब्यापारमा थिए । तर अहिले रमेशको अलग्गै बिजनेश छ ।

समिर र सूर्य बिसुद्ध व्यापारीमात्र होइनन्, उनीहरु अमेरिकामा चर्चित सामाजिक जोडी हुन् । नेपालमा बालबालिकाहरुको शिक्षाको क्षेत्रमा अमेरिकाबाटै काम गरिरहेको संस्था जिमिनमा समेत संलग्न रहेका काम गरेका समिर न्युयार्क नेवा गुठीका संस्थापक पनि हुन् । यी बाहेक समिर विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहे भने सूर्य हाल नेवा गुठी न्युयोर्कको कोषाध्यक्ष हुन् ।

कुनै पनि सामाजिक कार्यमा होस् या व्यवसाय सूर्य र समिरको जोडी निकै सकृय छ । व्यवसायमा पनि एकले अर्कालाई सहयोगमात्र गर्दैनन्, गल्ती समेत सच्याउँछन् । समिर भन्छन् –“मेरो गल्तीमा उनले सच्याउँछिन् । उनको गल्तीमा मैले सच्याउँछु । परिवारका तीनजना बच्चाहरुलाई पालै पालो समय दिन्छौं ।”

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com