सुन अनुसन्धानबारे बोल्न मिल्दैन : महानिरीक्षक सर्वेन्द्र खनाल


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठित सुन तस्करीमाथि सरकारले गठन गरेको विशेष समितिले केही उच्चपदस्थ प्रहरीमाथि अनुसन्धान गरिरहेका विषयमा बोल्न नमिल्ने बताएका छन् ।]

प्रहरी प्रधान कार्यालयमा बिहीबार आफ्नो कार्यप्रगति सार्वजनिक गर्दै खनालले आफू नियुक्त हुनुअघि गठित समितिको कामकारबाहीबारे टिप्पणी गर्ने कानुनी आधार नभएको बताए । उनले भने, ‘सरकारले गठन गरेको विशेष प्रकृतिको अनुसन्धान समितिले गरेको काम प्रश्न उठाउने विषय होइन ।’

सनम शाक्यको हत्या र संगठित सुन तस्करीमाथि अनुसन्धान गर्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गरेपछि उच्च प्रहरी अधिकारी पक्राउ परेका थिए । प्रहरीको सेटिङमा सुन तस्करी हुने र तस्करीको सुनको लाभांश प्रहरी अधिकारीले पनि पाउने देखिएको भन्दै एसएसपी श्याम खत्री, पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनालसमेत मुछिएका छन् ।

आईजीपी खनालले वर्षौंदेखि रोकिएको सरुवाबढुवाको प्रक्रिया सुचारु गर्नुलाई आफ्नो विशेष कामका रूपमा प्रस्तुत गरे । खनाल आईजीपी भएपछि प्रहरी जवानदेखि प्रहरी नायब महानिरीक्षकसम्मका ९ हजार ७ सय ४३ प्रहरीको सरुवा तथा पदस्थापन भएको छ भने २ हजार ५ सय १९ जनाको बढुवा भएको छ । त्यस्तै, प्रहरीमा रिक्त दरबन्दी पूर्ति गर्न यही अवधिमा ४९ प्राविधिक प्रहरी नायब निरीक्षक भर्ना गरिएको छ । प्रहरी सहायक निरीक्षकको पनि भर्ना प्रक्रिया चलिरहेको छ । १ हजार १ सय १५ रिक्त प्रहरी जवानको पूर्तिका निम्ति प्रहरी प्रधान कार्यालयले लोकसेवा आयोगसँग सहमति लिइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मानव बेचबिखन र साइबर अपराध हेर्न छुट्टै विभाग

खनालले संगठनात्मक सुधारका क्षेत्रमा काम सुरु भएको बताउँदै मानव बेचबिखन र साइबर अपराधको मुद्दा हेर्न छुट्टै विभाग गठन गर्ने प्रक्रिया अघि बढेको बताए । उनले संघीय संरचनामा प्रहरीलाई लैजान संगठनात्मक सुधारको काम अगाडि बढिरहेको बताए । संघीय संरचनामा जाँदा प्रहरीलाई जनशक्ति अपुग हुन सक्ने भन्दै जेठ २७ को मन्त्रिपरिषद्ले ३ हजार १ सय १ नयाँ दरबन्दी थपेको छ ।

खनालले प्रदेश कार्यालय स्थापना हुन बाँकी रहेका २ र ५ मा छिट्टै स्थापना गरिने जानकारी दिए । उनले प्रहरी संगठन सुदृढीकरणका विभिन्न बुँदासमेत सार्वजनिक गरेका छन् ।

प्रशासनिक सुधार, भौतिक पूर्वाधार, मानव स्रोत विकास, प्रविधि र आर्थिक अनुशासनका क्षेत्रमा सुदृढीकरण गरिने योजना आईजीपी खनालले अगाडि सारेका छन् जसमा भदौदेखि लागू हुने फौजदारी आचारसंहिता कार्यान्वयनका लागि तयारीदेखि आर्थिक अनुशासनमा कडाइ गर्नेसम्मका सुधार योजना समेटिएका छन् । सुदृढीकरण योजनामा प्रहरीका लागि जिल्ला स्तरसम्म फिटनेस सेन्टर निर्माणदेखि प्रहरी एकाइका लागि थप दरबन्दीसम्मका योजना समेटिएका छन् ।

प्रहरी इकाइ नभएका चार नगरपालिका र २६ गाउँपालिकामा आगामी आर्थिक वर्षभित्र इलाका प्रहरीस्तरका कार्यालय स्थापना गरिने र तिनमा १ हजार ६५ प्रहरी जनशक्ति रहने आईजीपी खनालले बताए । रिक्त ती स्थानमध्ये १४ वटामा प्रहरी निरीक्षकको कमान्डमा कार्यालय रहनेछ भने १६ स्थानमा प्रहरी नायब निरीक्षकको कमान्डमा कार्यालय रहनेछ । आईजीपी खनालले भने, ‘संघीय संरचनाअनुसार प्रहरी संरचनालाई अगाडि बढाउन कानुन निर्माणदेखि अन्य काम भइरहेको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com