किर्ते कागज बनाएर छोरा हो भन्दै मिर्गौला झिक्ने बस्नेत जेल चलान


प्रकाशित मिति : असार ९, २०७५ शनिबार

गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतले मोरङ कानेपोखरी गाउँपालिका वडा नं १ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई थुनामा पठाएको हो ।

गत वैशाख १० गते भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस वडा नं ९ घर भई हाल बनेपा नपा–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई लोभ, लालच, किर्ते कागज बनाएर छोरा हो भन्दै गिरीको मिर्गौला झिकेर बस्नेतले आफूलाई प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले बस्नेतलाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को देहाय (२) अनुसार कानूनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न पठाइदिनु भनी मुलुकी ऐन अव १२४ नं बमोजिम कारागार चलानको आदेश दिएको इजलास अधिकृत कमल महतले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जीवन रक्षाको अधिकारलाई प्रत्याभूति गर्दै बस्नेतलाई थुनामा छुट्टै राख्ने प्रबन्ध मिलाई कारागारमा रहँदा नियमित स्वास्थ्य जाँच गराउने, अस्पताल भर्ना गराउनुपर्ने अवस्थामा भर्ना गराउने, निजको जीवन रक्षाको सम्पूर्ण प्रबन्ध मिलाई निजले आर्थिक अवस्थाले उपचार गर्न सक्ने अवस्था नभए राज्यको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने गरी आदेश जारी भएको हो ।

मिर्गौला झिकिएका गिरीलाई भने साधारण तारिखमा छाड्ने आदेश भएको छ । गिरीको हकमा मिर्गाैला झिकिएका पीडित व्यक्ति भएको, अस्पतालको नियमित निगरानीमा रहनुपर्ने, मानसिक रोगी भएको, तत्कालै फरार हुन सक्ने वा प्रमाण मेटिने काम गर्न नसक्ने र निजको मानसिक, शारीरिक, आर्थिक तथा पारिवारिक अवस्थालाई मध्यनजर गर्दै थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी गिरीलाई मुलुकी ऐन अव ४७ बमोजिम साधारण तारेखमा राख्ने आदेश दिएको महतले जानकारी दिनुभयो ।

बस्नेतले गिरीलाई आफ्नै छोरा बनाउँछु भन्दै फकाउँदै, किर्ते कागजात तयार पारी गिरीको मिर्गौला झिकेर प्रत्यारोपण गरेको अभियोगमा बस्नेत पक्राउ परेका हुन् । बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको छ भने अन्य आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com