समयमा काम सम्पन्न नगर्ने ठेकेदार पक्राउ


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

Illustrative Photo

ठेक्काको काम जिम्मा लिएर समयमा नै काम सम्पन्न नगर्ने एकजना ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले बुधबार पक्राउ गरेको छ ।

जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोक मातहत रहेको इलाका वन कार्यालय, चौबासको भवन निर्माण कार्य जिम्मा लिएर बीचमा नै अलपत्र पारेका अग्रिम निर्माण सेवाका प्रोपाइटर नवीन चौलागाईबाट काम लिएका लालप्रसाद चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो ।

चौलागाईले २०७३ वैशाख २० गते योजना सम्झौता गरेका थिए । २०७४ वैशाख १९ सम्पन्न गर्ने गरी सम्झौता गरेको उक्त काम ६० प्रतिशत मात्रै सम्पन्न गराई काम अगाडि नबढाएका कारण आवश्यक सोधपुछका लागि बुधबार कात्तिके देउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।

“चौलागाईलाई आवश्यक सोधपुछका लागि बुधबार पक्राउ गरिएको हो, कस्तो खालको कारबाही हुने भन्ने विषयमा आज टुंगो लाग्नेछ ।” मरासिनीले भन्नुभयो । चौलागाई अग्रिम निर्माण सेवाका प्रोपाइटर नवीन चौलागाईबाट ठेक्का लिएका पेटी ठेकेदार भएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले जिल्लामा ठेक्का सम्झौता गरी समयमा नै काम नगर्ने निर्माण कम्पनीका ठेकेदारको विवरण तयार गरी कारबाहीको प्रक्रिया अगाडि बढाइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताउनुभयो । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com