यसै वर्ष वे बंगालबाट पानीजहाज सञ्चालन हुन्छ :ओली


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

प्रधानमन्त्री केपी ओलीले जलमार्ग र रेलमार्गको कुरा गर्दा केहीलाई सह्य नहुने भन्दै यसै वर्ष वे बंगालबाट पानीजहाज सञ्चालन भए अनौठो मान्नु नपर्ने बताएका छन् । सरकारले युगान्तकारी परिवर्तन गर्ने कुरा बजेटमा ल्याएको भन्दै ओलीले रेलमार्ग र जलमार्गलाई हल्का रूपमा नलिन पनि आग्रह गरे ।

नेकपाको बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘वे बंगालबाट पानीजहाज यही वर्षभित्र सुरु भए अनौठो मान्नुपर्दैन । आलोचकलाई उद्घाटनमा सँगै लैजानेछु ।’ जलमार्गबाट भारतको कोलकाताको ओसारपसार गर्ने काम निकट भविष्यमै सुरु हुने पनि उनले बताए । आफूले रेलमार्ग र जलमार्गको कुरा गर्दा केही मान्छेमा ‘यो काम गर्न सकिन्छ भन्ने कुराको आत्मविश्वास नै नहुने’ भन्दै ओलीले असन्तुष्टि जनाए ।

असाधारण प्रतिबद्धतासाथ बजेट आएको भन्दै ओलीले यसको कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ । ‘यो बजेट हावादारी हो भन्ने पनि सुनियो’, प्रधानमन्त्री ओलीले भने, ‘यो बजेटलाई हावादारी भन्नु सबैभन्दा हावादारी हो ।’ विकासमा पछि परेको समुदाय, क्षेत्रको युगान्तकारी परिवर्तन गर्ने विषय बजेटमा आएको उनको दाबी छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण, वीरगन्ज–काठमाडौं रेल बनाउने कुरालाई सामान्य अर्थमा लिन नहुने ओलीले बताए । ‘रेल बनाउने कुरा एउटा मान्छे ट्रेकिङमा हिँडेको जस्तो होइन’, उनले भने । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका क्रममा बनाइएको साझा घोषणापत्रअनुसार बजेट आएको उनको भनाइ छ । ‘मैले त्यतिबेलै भनेको थिएँ, यो नेपाल बनाउने घोषणापत्र हो भनेर’, उनले भने, ‘समय गुजार्ने र अल्मलिएर बस्ने बेला होइन । तपाईं (जनता)ले छानेर पठाएको सरकार दिशाहीन वा अलमल हुँदैन ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com