सहारा खोज्दै टुहुरी किशोरी


प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार

बाजुराको हिमाली गाउँपालिका ६ कि लक्ष्मी शाही सहाराको खोजीमा छिन् । सहारा दिने अभिभावक र सहयोग गर्ने आफन्त नहुँदा उनी बिचल्लीमा परेकी हुन् ।

‘बस्ने घर पनि छैन । काम गरि खाने जमिन पनि छैन’ १५ वर्षीया किशोरी लक्ष्मी शाहीले भनिन्, ‘मेरो कोही छैन रे । कहाँ जाने केही थाहा छैन ।’

आफू चार वर्षकी हुँदा आमाबुबा दुवैजनाको मृत्यु भए पछि बेसहारा बनेकी लक्ष्मीले बुबाआमाको मृत्यु पछि भएको जग्गा जमिन समेत अंशियारले लगेको बताइन् ।

‘अंशियारले जग्गा जमिन सबै लगे । तर मलाई सहारा दिने बारेमा भने कसैले चासो दिएनन्, ‘लक्ष्मीले भनिन् । आफन्तले घरमा समेत बस्न नदिएपछि गाउँले नाता पर्ने एक जना दिदीले आफ्नो घरमा लगेर राखेको उनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार वर्षकै उमेरदेखि नाता पर्ने दिदीको घरमा बस्दै आएकी लक्ष्मीलाई दिदीले काम गर्न नसकेको दिन खानै नदिने र बिहानै उज्यालो नहुँदैदेखि घरभित्र र घरबाहिरको काममा खटिदै आएको बताइन् ।

रात दिन काममा पेलिदा समेत दिदीको टोकसो कम नहुने भए पछि अहिले लक्ष्मीले घर छोडेको बताइन् ।

‘सानोमा केही थाहा भएन । जति गाली गर्दा, काममा पेलाउँदा पनि सकिनसकी काम गरेँ । अहिले बुझ्ने हुन थाले पछि दिदीको घरमा बस्न मन लागेन । अनि घर छोडे’ उनले भनिन् ।

दिनभर काम गर्दा पनि पेटभर खान नपाए पछि दिदीको घर छोडेकी उनी स्थानीय अधिकारकर्मी रेखा रेग्मीसँग बसिरहेकी छन् ।

सहाराविहीन लक्ष्मीलाई उनको सहारा नभेटेसम्म आफूले संरक्षण दिएको रेखाले बताइन् ।

दिदीको घरमा रहँदा स्थानीय नन्देश्वरी माविमा भर्ना भएकी उनले विद्यालय भने कहिल्यै जान नपाएको बताइन् ।

विद्यालयमा नाम मात्रै लेखाएको र परीक्षाको दिनमा मात्रै विद्यालय जान पाएकाले उत्तरपुस्तिकामा नाम लेख्न बाहेक अरु लेख्न नआएको उनले स्मरण गरिन् ।

‘अहिले धेरैले अब के पढ्नु पर्यो र । कोही पालिदिने मान्छे पाए विहे गरेर जाउ भन्छन्’ लक्ष्मीले भनिन्, ‘सबैले हेपेर बोल्छन् ।
पढ्ने रहर त थियो । विद्यालय जाने मन थियो । के गर्नु थाहा छैन ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com