दुवै खुट्टा नभएका एक चिनियाँ सगरमाथाको शिखरमा


प्रकाशित मिति : बैशाख ३१, २०७५ सोमबार

यसपाली वसन्त ऋतुमा आरोहणको क्रम शुरू भएसँगै दुवै खुट्टा नभएका एक चिनियाँसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको एक अधिकारीले बताएका छन्।

दुवै खुट्टा नभएका चिनियाँ पर्वतारोही सिया बोयुले सोमवार बिहान सगरमाथाको सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक अधिकारीले बताए।

उनी नेपाली मोहडाबाट सगरमाथाको शिखर पुग्ने पहिलो ‘डबल एम्पुटी’ भनिने दुवै खुट्टा नभएका आरोही हुन्।

यसअघि सन् २००६ मा न्युजिल्याण्डका मार्क इङ्ग्लिशले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सफलता

आइतवार नेपाली आरोही टोलीले शिखरको बाटो खोले लगत्तै सिया बोयुसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको शिखर चुमिसकेको सगरमाथा आधार शिविरस्थित पर्यटन मन्त्रालयका प्रतिनिधि ज्ञानेन्द्र श्रेष्ठले बीबीसीलाई बताए।

उनले भने, “सिया र अरू करिब ५० जनाले सगरमाथा चढेको खबर आएको छ। अहिले उनीहरू साउथ कोलको बाटो तल झरिरहेका छन्।”

४० वर्षअघि हिउँको चिसोका कारण सियाको दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको थियो। पछि क्यान्सर रोगका कारण उनले दुवै खुट्टा गुमाउन पुगे।

तर उनी अविचलित रहे। उनले सगरमाथा आरोहण गर्ने योजना परित्याग गरेनन्।

तयारी

सन् २०१५ मा भूकम्पले उनको सगरमाथा आरोहण गर्ने योजनालाई प्रभावित तुल्यायो।

६ महिनाअघि नेपाल सरकारले दुवै खुट्टा नभएका आरोहीलाई आरोहण गर्न नदिने नियम ल्याएको थियो।

पछि अदालतले त्यो नियम कार्यान्वयन नगर्न आदेश दिएपछि सिया सगरमाथा आरोहणको तयारीमा जुटे।

उनी अन्तत: सफल भए। सिया र उनका आरोहण सहयोगी सोमवार बिहान ८.३० बजेतिर सगरमाथाको शिखर पुगेको श्रेष्ठले बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com