बेचिनबाट जोगिएकी किशोरी भिरबाट खसाइन्, पैसा नहुँदा उपचार भएन
प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार
प्रकाश सिंह–
प्रेम र विवाहको नाटक गरेर किशोरीको हत्या गर्न खोज्ने युवकलाई घटनाको दुई साता बितिसक्दा समेत प्रहरीले पक्राउ गर्न सकेको छैन ।
विवाह गर्ने बहाना बनाएर बाजुराकी एक किशोरीलाई भारतमा बेच्न लैजाने योजना बनाएका मुगुका युवकले बेच्ने योजना असफल बने पछि यही वैशाख १० गते भिरबाट खसाएर मरिसक्यो भनि छोडेका थिए ।
कुटपिट पछि बेहोस् भएकी किशोरी ज्यान मार्ने उद्देश्यले भिरबाट खसाइएकी थिइन् । उनलाई घटनाको दोस्रो दिन बैशाख ११ गते गोठालाले फेला पारेका थिए । गोठालाको जानकारी पश्चात बेहोस् अवस्थामै प्रहरीले उद्धार गरेको थियो ।
यस्तो छ घटना
बाजुराको हिमाली गाउँपालिका ६ कि कमला पाण्डेलाई मुगुको खत्याड गाउँपालिकाका लोकबहादुर बानियाँले प्रेमको प्रस्ताव राखे । १७ वर्षीया किशोरी कमला लोकबहादुरका मिठा कुरा र सुन्दर सपना सुनेर मख्ख भइन् । उनीहरू बीच भागेर विवाह गर्ने योजना बन्यो ।
लोकबहादुरले नेपालमै बसे दुख पाइने भन्दै भारतमा गएर जीवन रमाइलो बनाउने योजना सुनाए । कमला पनि सहमत भइन् । दुई जनाबिच घर छोड्ने सल्लाह भए पछि २०७४ फागुन २७ गते लोकबहादुरसँग कमला भागिन् ।
भारत जाने भन्दै बाजुराबाट भागेका कमला र लोकबहादुरलाई माइती नेपाल र प्रहरीले कञ्चनपुर भन्सारमा रोक्यो । सोधपुछका क्रममा लोकबहादुरले बेच्ने योजनासहित उनलाई भारत लैजान लागेको भन्दै कमलालाई कन्चनपुर प्रहरी र माइती नेपालले चैत १ उद्धार गरेको थियो ।

उद्धार गरिएकी कमलालाई माइती नेपाल र प्रहरीले उनका बुवा कालीप्रसाद पाण्डेको जिम्मा लगाए । विहे गर्ने वहाना बनाएर भारत लैजान लागिएकी कमला बेचिनबाट जोगिएको माइती नेपालले बताएको थियो ।
उद्धार पछि कमलाई बुढीनन्दा नगरपालिका ५ विरसैनको मावली घरमा राखियो । जन प्रकाश उच्चमाविमा कक्षा ९ मा अध्यनरत उनले चैतको महिना कक्षा ९ को परीक्षा दिईन् ।
वैशाख १० गते लोकबहादुर फेरि कमलाको मावली पुगे । म तिमीलाई माया गर्छु । तिमी बिना बाच्न सक्दिन । प्रहरी र माइती नेपालले झुठो बोलेर हामीलाई अलग गर्न खोजका हुन् भन्दै ललाइफकाइ गरे पछि आफूले लोकबहादुरको कुरामा विश्वास गरेको कमलाले बताइन् ।
लोकबहादुरले कमलालाई बिहे गरेर घर लग्छु भनेका थिए । तर मावलीबाट हिँडे पछि भने दिल्ली जानु पर्छ भनेर दबाब दिन थाले । तीन दिन जति बुढिनन्दा नगरपालिकाको पाण्डुसेनको पोरखे लेखमा रहेको होटलमा राखे ।
कमलाले भारत जान नमाने पछि, जंगलमा लगेर कुटपिट गरे । उनी बेहोस भइन् । त्यस पछि के भयो, कता फ्याकियो कमलालाई थहा छैन । जब होस् खुल्यो उनले आफूलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पाइन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक कलेन्द्रसिंह बोहराका अनुसार कमलालाई कुटपिट गरेर करिब ३ सय मिटर अग्लो भिरबाट खसाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । बेहोस् अबस्थामै उद्धार गरिएकी कमलालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पनि प्रहरीले नै भर्ना गरेको हो ।
कमलाको टाउकोमा गम्भीर चोट लागेको छ । शरीरमा पुरै निल डाम छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा केही दिनमा उपचार पछि अहिले उनी घरमा छन् । उनलाई तत्कालै थप उपचार गर्नुपर्ने छ । कमला अहिले सामान्य बोलचाल गर्न सक्छिन् । जिल्लाबाहिर लगेर उपचार गर्ने पैसा नहुँदा घरमै राखेको कमलाकी आमा आमा लालजना शर्माले बताइन् ।
कमलालाई भारतमा बेच्ने योजना फेल भए पछि भिरबाट खसाएर मरी भनि छोडेका लोकबहादुर विरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता गरिसकेको प्रहरीले जनाएको छ । दोषीलाई प्रक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय मुगुमा समेत पत्राचार गरिसकेको प्रहरीले जनाएको छ ।
अधिकारकर्मी मौन
बेचिन र हत्या हुनबाट जोगिएकी कमलाको पक्षमा अहिलेसम्म जिल्लामा कसैले पनि आवाज नउठाइदिएको कमलाकी आमाको भनाइ छ ।
‘छोरीको न्यायका लागि कोसँग सहयोग मान्ने थाहा छैन’ कमलाकी आमा लाजनाले भनिन्, ‘कसैले उपचार गर्न सहयोग गरिदिएको भए छोरीको ज्यान जोगिन्थ्यो होला । गरिव छौं । गरिवलाई सहयोग गरिदिने कोही हुँदोरहेनछ ।’
यो घटनामा प्रहरी प्रशासनले पनि सक्रियता देखाएको छैन । न त अधिकारकर्मीको नै आवाज उठेको छ । उपचार र न्याय अभावमा घरमै छट्पटाइरहेकी कमलाले आफ्नो न्यायका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छिन् ।
MAHILA KHABAR






