चिनियाँद्वारा निःशुल्क भिसाको दुरूपयोग बढ्दो,चिकित्सा पेशादेखि ठूला व्यवसायसम्ममा संलग्न


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

चिनियाँ पर्यटकलाई पाँच महिनासम्मका लागि निःशुल्क भिसा उपलब्ध गराउने नियमको दुरूपयोग बढेको अध्यागमन विभागका अधिकारीहरूले बताएका छन्।

नेपालले दुई वर्षयता चिनियाँ पर्यटकहरूलाई उक्त सुविधा दिँदै आएको छ।

पर्यटक भिसामा आएर व्यापार लगायतका गतिविधि गर्दै बस्ने चिनियाँहरूको संख्या बढ्न थालेपछि त्यसमा नियन्त्रणका लागि कदम चालिएको विभागले जनाएको छ।

विगतमा सार्क राष्ट्रका नागरिकहरूलाई एक महिनासम्मका लागि मात्र दिइँदै आएको निःशुल्क भिसा चीन सार्कको पर्यवेक्षक मुलुक भएपछि सन् २०१६ यता चिनियाँ नागरिकहरूलाई १५० दिनका लागि दिन थालिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निगरानी
तर निःशुल्क पर्यटक भिसामा नेपाल आएर चिकित्सा पेशादेखि ठूला व्यवसायसम्ममा उनीहरू संलग्न हुने गरेको गुनासो बढेको र केहीलाई पक्राउ गरी फिर्ता समेत पठाइएको अध्यागमन विभागले जनाएको छ।

धेरै ठाउँमा चिनियाँ पर्यटकहरूले निःशुल्क भिसाको दुरूपयोग गरेको र गलत काम गरेको देखिएको छ। यस्तो गतिविधि नियन्त्रण गर्नुपर्छ भनेर हामीले धेरैलाई निगरानीमा राखेर फिर्ता पनि गरेका छौँ
चिरञ्जीवी थापा, प्रमुख, कानून शाखा, अध्यागमन विभाग
गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागको कानून शाखाका प्रमुख चिरञ्जीवी थापाले भने, “धेरै ठाउँमा चिनियाँ पर्यटकहरूले निःशुल्क भिसाको दुरूपयोग गरेको र गलत काम गरेको देखिएको छ। यस्तो गतिविधि नियन्त्रण गर्नुपर्छ भनेर हामीले धेरैलाई निगरानीमा राखेर फिर्ता पनि गरेका छौँ।”

उनले चिनियाँलाई निःशुल्क पर्यटक भिसाका कारण पर्यटकहरूको संख्या बढेको भए पनि समस्या समेत बढेकोले त्यसबारे पुनर्विचार गर्न गत हप्ता मात्रै विभागले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको बताए।

विभागका अनुसार पछिल्ला केही महिनायता कारबाहीमा पर्नेमा अधिकांश चिनियाँ चिकित्सक र साना व्यापारी छन्।

यद्यपि यो समस्या चिनियाँहरूको हकमा मात्रै भने देखिएको छैन।

पुनर्विचार
गत हप्ता श्रमस्वीकृति विनै काम गरेको आरोपमा काठमाण्डूको दरबारमार्गबाट पक्राउ परेका उत्तर कोरियाली नागरिकहरूविरूद्ध आरोप पुष्टि हुन नसकेको बताउँदै विभागले हालै उनीहरूलाई दूतावासको जिम्मा लगाएको थियो।

पक्राउ परेका ११ जना उत्तर कोरियाली नागरिकमध्ये ६ जना पर्यटक भिसामा नेपाल आएको भए पनि भिसा दुरूपयोग गरेको पुष्टि नभएकोले दूतावासको जिम्मा लगाइएको विभागले जनाएको छ।

अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने, “उत्तर कोरिया बाहेक अरू देशबाट आउने पर्यटकले पनि अन्य काम गरी भिसा दुरूपयोग गरिरहेको भन्ने छ। त्यसकारण हामीले निगरानी बढाएका छौँ।”

पछिल्ला केही वर्षयता पर्यटक भिसा दुरूपयोग गरे बापत झण्डै पाँच सय जनालाई उनीहरूकै देश फिर्ता गरिए पनि त्यस्ता गतिविधिको अनुगमन चुस्त पार्न स्पष्ट नीति नभएको गुनासा कायमै छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com