चार लाख नहुँदा शल्यक्रिया रोकियो
प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार
महिला खबर–
ललितपुर । धनगढी उपमहानगरपालिका २ भन्सार रोडकी रक्षा उपाध्यायको आर्थिक अभावका कारण मुटु रोगको शल्यक्रिया हुन सकिरहेको छैन । १८ वर्षकी उपाध्यायलाई ११ वर्षको उमेरमै मुटुरोग पत्ता लागेको भए पनि अहिलेसम्म अप्रेशन हुन नसकेको उनकी दिदी रेखा उपाध्यायले बताइन् ।
११ वर्षमा अप्रेशन गर्न गाह्रो हुने भन्दै डाक्टरले औषधि मात्रै दिएको थियो । अहिले रोग बढ्दै जाँदा समस्या भएको रेखाको भनाइ छ ।
भन्छिन, ‘सरकारी अस्पताल सबै ठाउँ चेकजाँच गराएँ । डक्टरले अप्रेशन गर्नुपर्छ भनेपछि घर फर्काइहाल्छु । त्यति ठूलो पैसा मसँग छैन । अनि उपचार गर्नुपर्ने बहिनीलाई घर फर्काएर ल्याउने गरेकी थिएँ ।’
अहिले रक्षालाइ काठमाडौस्थित सहिद गंगालाल हृदय राेग उपचार केन्द्रमा भर्ना गरिएको छ । रक्षाको यही बैशाख २ गते डाक्टरले अप्रेसन गर्नुपर्ने भने पनि अहिलेसम्म अप्रेशन हुन सकेको छैन । अप्रेशनका लागि ४ लाख पैसा लाग्ने भने पछि अप्रेशन रोकिएको रेखाले बताइन् ।
अस्पतालले यही बैशाख ३० गतेसम्म पैसा जम्मा गर्न भनेको छ । तर पैसाको कुनै टुंगो नभए पछि बहिनीको ज्यान जोखिममा पर्ने भन्दै रेखाले सबैसँग सहयोगको याचना गरेकी छन् ।
‘आमा जेलमा हुनुहुन्छ । बुबाको मृत्यु भइसक्यो । सहयोग गर्ने आफन्त कोही नभएपछि बहिनी जोगाउन मुस्किल भो’ रेखाले भनिन्, ‘हाम्लाई साँझ बिहान छाक टार्नै धौधौ छ । अप्रेशनको लागि कसरी पैसा जुटाउने सोच्न सकिरहेकी छैन ।’
रेखाले बहिनीको अप्रेशनका लागि आर्थिक सहयोग गरिदिन धनगढी उपमहानगरपालिकालाई पनि आग्रह गरेको बताइन् । तर अहिलेसम्म उपमहानगरपालिकाबाट कुनै खालको प्रतिक्रिया नआएको र सबैको सानोसानो सहयोगले बहिनीको ज्यान बच्ने हुँदा आफूले सकेजति सहयोग गरिदिन उनले आग्रह गरेकी छन् ।
आफ्नो बैङ्कमा खाता पनि नभएकाले सहयोग गर्न चाहानेका लागि आइएमई वा आफ्नो फोन नम्बर ९८६८०६५७४५ मा फोन गरेर पैसा जम्मा गरीदिन रेखाले अनुरोध गरेकी छन् ।






