‘एनजिओमा जागिर लाइदिन्छु तिमी क्रिस्चियन बन्नुपर्छ’
प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार
गैह्रसरकारी संस्था (एनजिओ)मा जागिर लगाईदिने आश्वासन दिलाएर जबर्जस्ती काठमाडौंको नागार्जुन नगरपालिका–४ स्थित सीतापाइलामा रहेको चर्चमा बोलाएर धर्म परिवर्त गराउन खोज्ने ३ महिला पक्राउ परेका छन् ।
चितवनको भरतपुर नगरपालिका–२७ घर भई हाल काठमाडौं बस्ने लक्ष्मी भट्टराईलाई ईच्छा विपरीत चर्चमा लगेर बाईवलको पाठ सुनाउँदै दुवै हात समातेर जबर्जस्ती ब्याप्टिजम गर्न लगाउने तीन महिलालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् ।
लामो समय दुवई बसेर आएकी लक्ष्मी भट्टराईलाई जागिर लगाइदिन्छु भन्दै फुलदेवी भट्टराईले वैशाख १५ गते राधिका महर्जनलाई भेट्न पठाएकी थिइन् । महर्जनलाई भेट्न सीतापाइला पुगेकी लक्ष्मीलाई उनले केही नभनी चर्चभित्र लगेर सुमित्रा गौलीलाई भेट्टाएकी थिइन् ।
‘सुमित्राले लक्ष्मीको इच्छा विपरित बाइबलको पाठ सुनाउँदै जबर्जस्ती ब्याप्टिजम लिन लगाएको पाइएको छ’ एसएसपी पोखरेलले भने, ‘यसरी जबर्जस्ती धर्म परिवर्तन गराउनु अपराध हो, प्रतिवादीहरुमाथि मुलुकी ऐन २०२० अदलको महल बमोजिम म्याद लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’
धर्म परिवर्तन गरेमात्र जागिर मिलाइदिन्छु भन्ने प्रतिवादीहरुलाई अदलको महलको १ नम्बर दफा अनुसार ३ बर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेको छ । कानुनअनुसार अरुको धर्ममा खलल पर्ने गरी कसैले पनि कुनै धर्म परिवर्तन गर्न या गराउन हुँदैन ।






