यातायात व्यवसायीले सिण्डिकेड खारेजको विरोध गर्दै यातायात देशैभर ठप्प पारे पनि प्युठानमा भने यातायात चले
प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार
वैशाख २१, प्युठान । सरकारको सिण्डिकेड खारेज गर्ने निर्णयको विरोध गर्दै नेपालका यातायात व्यवसायीले सार्वजनिक यातायात देशैभर ठप्प पारेका छन्। तर, स्वर्गद्वारी र राप्ती सार्वजनिक यातायात व्यवसायी समितिका सयौँ गाडीहरू चल्ने प्युठानमा भने शुक्रबार जिल्लाभरबाट २३ वटा गाडीहरू चलेका छन्। नेपाल सरकारले सिण्डिकेटको खारेज गर्दै नेपालका सार्वजनिक यातायात समितिलाई कम्पनी ऐनमा दर्ता गर्ने भएपछि सार्वजनिक यातायात व्यवसायी रुष्ट बनेका हुन्। सोही कारण नेपाल यातायात व्यवसायी महासंघको समर्थन गर्दै जिल्लास्थित स्वर्गद्वारी यातायात समितिले पनि आफ्ना गाडी ग्यारेजमा थन्काएर विरोध जनाएको छन्। प्युठानमा नमस्ते प्युठान यातायात प्रालीका डिलक्स बस, हायस, वोलेरो, विङगर्सलगायतका सवारीसाधन मात्र चलि जनताको दैनिकी सहज बनाएका छन्। काठमाडौं, कृष्णनगर, बुटवल लगायतका बाहिरी र जिल्लाभित्र विभिन्न स्थानमा गरी २३ सवारी साधन सञ्चालन गरिएको नमस्ते प्युठान यातायात प्राली का अध्यक्ष लिलाप सिंह केसीले बताए।






