आँखा देखे पछि फर्किएको खुसी
प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार
प्रकाश सिंह\महिला खबर
हिमाली गाउँपालिका ३ बौडीकी १ सय ७ वर्षीया सिधरा रोकायाले १० वर्षपछि आँखा देख्न पाउदा संसार जितेको महशुस गरेकी छन् ।
जिल्लाकै सबैभन्दा दुर्गम गाउँपालिकाकी सिधरा ७० वर्षकी छँदा एउटा आँखाले देख्न छोड्यो । ९७ वर्षको उमेरमा अर्को आँखा समेत गुमे पछि अरुको सहारा बिना दिसापिसाव समेत गर्न नसक्ने अवस्थामा पुगेकी सिधराले आँखाको शल्यक्रिया पछि संसार देख्न पाउदा खुसीको सीमा नै नरहेको बताइन् ।
‘आँखाको ज्योती गुमे पछि सन्तानको मुख फेरि हेर्न पाउँछु भन्ने सोचेकै थिइन’ सिधराले भनिन्, ‘शल्यक्रिया पछि आँखा देख्न पाउदा स्वर्गै पुगे जस्तो आभास भो ।’ परिवार, आफन्त, नातागोतालाई देख्न पाउदा यो भन्दा अर्को स्वर्ग छैन भन्ने लागेको उनले बताइन् ।
हिमाली गाउँपालिकामा पहिलो पटक बृहत स्वास्थ्य शिविर सञ्चालन भएको हो । बौडी गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक हप्ता लाग्छ । यातायातको पहुँच नहुँदा स्थानीयले स्वास्थ्यपोचारका लागि निकै समस्या भोग्दै आएका छन् ।
सिधराका छोरा ध्यान बहादुर रोकायाले गाउँमै आमाको आँखाको अप्रेशन गर्न पाउदा आमा र आफ्नो परिवार निकै खुसी भएको बताए ।
सोही वडाको युनाकी ७० वर्षीया सफला बुढाले पनि धेरै पछि आँखा देख्न पाएकी छन् । हिमाली गाउँपालिका १ बस्ने ८४ वर्षीया नानिकला रोकाया र ८० वर्षकी पना थापाले पनि आँखा गुमेको धेरै पछि आँखा खुलेकोमा निकै खुसी भएको बताए ।
शिविरबाट बाजुरा, हुम्ला र मुगुको दुर्गम गाउँका १ सय ४ जनाको मोती बिन्दुको अप्रेशन भएको छ । एक पैसा पनि खर्च नभरी गाउँमै उपचार पाए पछि स्थानीय निकै खुसी भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताए ।
कादुरी एगरिकल्चर एड एसुसेसन बिट्रस गोरखा पोखराको (Kadoorie agricultural aid association/british gurkhas Pokhara) पहलमा शिविर सञ्चालन भएको थियो । आँखाको उपचारको लागि हिमालयन आँखा अस्पतालले सहयोग गरेको अस्पतालका दृष्टि अधिकृत धर्मेन्द्र घोडासनीले बताए ।
यति दुर्गम ठाउँमा पहिलो पटक सेवा गर्ने पाएकोमा धर्मेन्द्रले खुसी व्यक्त गरे ।

संस्थाले पहिलो पटक निशुल्क शिविर सञ्चालन गरेको हो । शिविरबाट २३ सय ८० जनाको उपचार भएको थियो । जसमा ७ सय ८८ पुरुष र १५ सय ९२ जना महिलाले सेवा पाएको संस्थाका निर्देशक क्याप्टन राजन राईले बताए ।
शिविरमा आँखा, दाँत, नाक, कान घाटी र स्त्री रोग सम्बन्धि उपचार गरेको कादुरी एगरिकल्चर एड एसुसेसन बिट्रिस गोरखाले जनाएको छ । शिविरमा ७ जना चिकित्सकको सहभागिता भएको थियो ।






