साउदी जेलमा बन्दी रहेका राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

२ वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गर्नुभएको छ । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उहाँ २ वर्षदेखि बन्दी जीवन बिताइरहनु भएको छ ।

एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गर्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बेलुका आफूलाई भेट्न आइपुगेको राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले प्रेमबहादुरको जेल मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो अवसरमाप्रधानमन्त्रीओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको बताउनुभयो । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो,– ‘अरु देशका नागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेश गएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउँछौं ।’

नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको प्रधानमन्त्रीओलीले बताउनुभयो । ‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्था त्यति राम्रो छैन, तर अब हामीले हाम्रै देशमा उत्पादन बढाउनु छ, उद्योग खोल्नु छ, यहीँ रोजगारी रिर्जना गर्नुछ । त्यसका लागि यो सरकार बनेको हो,’ प्रधानमन्त्रीओलीले भन्नुभयो ।
कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कंडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म ७१ लाख रुपैयाँ संकलन भइसकेको बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com