तातोपानी नाका खुल्ने सम्भावनाः लार्चा बन्दरगाह निर्माण शुरु


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

वैशाख २०, काठमाडौं । जुरे पहिरो, ‘गोरखा भूकम्प’ र भोटेकोशीमा आएको बाढीका कारण बन्द सिन्धुपाल्चोकको लार्चा सुख्खा बन्दरगाहको निर्माण पुनः शुरु हुने भएको छ ।

नेपाल र चीन सीमा नजीक तातोपानीको लार्चामा निर्माण हुने सुख्खा बन्दरगाह पुनःनिर्माण सम्बन्धमा आज नेपाली र चिनियाँ अधिकारीबीच निर्माण शुरु गर्ने सम्झौता भएको छ । नेपाल र चीन सरकारबीच भएको सहमतिअनुसार नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ इकोनोमिक एण्ड कमर्शियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच सुक्खा बन्दरगाह निर्माण शुरु गर्ने सम्झौता भएको हो ।

चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी ९सिआरसिसी० ले आजैदेखि निर्माण शुरु गर्ने र आगामी एक वर्षभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । भूकम्पले क्षति पु¥याएका कारण सो सुक्खा बन्दरगाहको निर्माण रोकिँदै आएको थियो ।

भूकम्पलगत्तै बन्द तातोपानी नाका सञ्चालनमा ल्याउन समेत सो सुक्खा बन्दरगाह निर्माण हुनु जरुरी देखिएको थियो । तातोपानी सुक्खा बन्दरगाह पुनःनिर्माण गरी सञ्चालन ल्याउनका लागि वाणिज्य मन्त्रालय र चिनियाँ राजदूतावासबीच २०७३ चैत १८ मा हस्ताक्षर भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यातायात विकास समितिका कार्यकारी निर्देशक बस्नेतका अनुसार तातोपानी सुक्खा बन्दरगाह निर्माण आयोजनालाई निरन्तरता दिन क्षतिपछिको पुनःनिर्माण कार्ययोजना बनाएर कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । सो कार्ययोजनानुसार परियोजना तीन भागमा विभाजन गरी निर्माण गरिने छ । सो परियोजनाको आपत्कालीन सुरक्षा, भौगोलिक क्षतिको व्यवस्थापन र आयोजनालाई निरन्तरता दिने सम्झौता गरिएको बस्नेतले जानकारी दिए ।

आयोजनास्थलमा चिनियाँ निर्माण व्यवसायीले पहुँचमार्ग, आवासगृह तथा अन्य निर्माणपूर्वको काम गरिरहेको थियो । द्विपक्षीय सम्झौता भएपछि बन्दरगाह निर्माणको काम नै शुरु भएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिनुभयो । बन्दरगाहसम्म पुग्नका लागि निर्माण भएको भोटेकोशी नदीमाथिको पुल बाढीले बगाएकाले पुल पुनः निर्माण गर्नुपर्ने भएको छ ।

हस्ताक्षर समारोहमा उपस्थित चिनियाँ प्रतिनिधि झाङ फ्यानले सुक्खा बन्दरगाह निर्माणका लागि आजैदेखि पहिलो चरणमा ४० चिनियाँ र अरु थप नेपाली कामदार परिचालित हुने र एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताउनुभयो । नेपाल सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने र चिनियाँ पक्षले समयमै निर्माण सम्पन्न गर्ने सहमतिसमेत भएको छ ।

कार्यकारी निर्देशक बस्नेतले सुक्खा बन्दरगाह निर्माणका लागि सरकारका तर्फबाट आवश्यक सहजीकरण तथा अन्य भौतिक सहयोगसमेत उपलब्ध गराइने विश्वास दिलाए ।

चीन सरकारले तातोपानी नाका सञ्चालनमा ल्याउने विश्वास दिलाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन पहिले गरेको चीन भ्रमणका क्रममा समेत सो नाका सञ्चालनको विषयमा छलफल भएको थियो । सुख्खा बन्दरगाह तयार भएपछि तातोपानी नाकाबाट पुनः व्यापार विस्तारमा थप सहज हुने विश्वास लिइएको छ ।

गत चैत १ गते अर्थ मन्त्रालय र चिनियाँ सरकारबीच भौगर्भिक विपद् व्यवस्थापन परियोजना सञ्चालन र निर्माणलाई निरन्तरता दिने विषयमा सहमति भएबमोजिम चिनियाँ पक्षले तातोपानी सुख्खा बन्दरगाहको दोस्रो चरणको काम अघि बढाउन चीन रेल्वे १४औँ ब्यूरो ग्रुप कम्पनी लिमिटेडलाई परियोजनाको मुख्य ठेकेदार तथा बेइजिङ आर्किटेक्चर डिजाइन इन्स्टिच्यूट कम्पनी र सेन्याङ सुुपरभिजन एण्ड कन्सल्टेन्ट कम्पनीलाई आयोजना व्यवस्थापक कम्पनीका रुपमा छनोट गरिएको थियो ।

सो परियोजनाको कूल लागत करीब रु दुई अर्ब ३५ करोड अर्थात् १४ करोड ७० लाख युआन छ ।

तातोपानी सुक्खा बन्दरगाहको पुनःनिर्माण सम्बन्धमा दोस्रो चरणको काम अगाडि बढाउने सम्बन्धमा भएको सहमति कार्यान्वयन गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रिस्तरीय निर्णय गरी यायाताय विकास समितिलाई निर्देशन दिएका थिए ।

नेकपा ९माओवादी केन्द्र०का नेता एवं सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अग्निप्रसाद सापकोटाले सुख्खा बन्दरगाहको निर्माण शुरु भएसँगै तातोपानी नाका खुल्ने सम्भावना बढेको बताउँदै नाका बन्दा हुँदा हजारौँको रोजगारी गुमेको, राष्ट्रिय राजश्वमा समेत क्षति पुगेको र व्यापार व्यवसायमा समस्या पैदा भएको अवस्थामा बन्दरगाह पुनः निर्माण हुने विषयले सिन्धुपाल्चोकवासीलाई खुशी तुल्याएको बताए । नेता सापकोटाले स्थानीय गाउँपालिका, स्थानीयवासी, राजनीतिक दल तथा नागरिक समाजले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्ने र दुई देशको सम्बन्धलाई थपमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलाए । नेपाल चीन सीमा जोड्ने मितेरी पुलबाट करीब ७ किमी तल सुख्खा बन्दरगाह निर्माण थालिएको हो । करीब ९० रोपनी क्षेत्रफलमा उक्त बन्दरगाह निर्माण भइरहेको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com