हेर्नुहोस्, रानीवन टु बालुवाटार रेल सुरुङमार्ग


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा धेरै किस्सा चर्चामा आए । आफ्नै पानीजहाज, घरघरमा पाइपलाइनबाट ग्याँस, रेल मार्ग, सुरुङमार्ग र मोनो रेल । उनी प्रधानमन्त्रीबाट हटेलगत्तै ती चर्चा पनि केही सेलाए ।

एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओली यतिबेला फेरि प्रधानमन्त्री छन्, त्यो पनि झण्डै दुई तिहाइ बहुमतका साथ । केपी शर्मा ओलीले तत्कालीन समयमा भनेका कतिपय योजनाहरू साँच्चैका सपना हुन् कि किस्सा मात्रै हुन् भन्ने चर्चा पनि भयो । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली भने ती भनाइहरूलाई सपना भन्दै एक दिन पूरा भएरै छाड्ने दाबी गरिरहेका छन् ।

केपी शर्मा ओलीको यही किस्सालाई यतिबेला काठमाडौं महानगरपालिका वडा नम्बर १६ नर्सरी चोकका जनताले व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिरहेका छन् । सडकको बीचमा विगत १ वर्षदेखि भ्याङ पर्दा पनि महानगरपालिकाले सडक नबनाएपछि उनीहरूले यसरी व्यङ्ग्य प्रस्तुत गरेका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १५ र १६ तथा नागार्जुन नगरपालिकाको वडा नम्बर १ को सिमानामा पर्ने ढुङ्गेधारा रानीवन जाने बाटोको दृश्य हो यो । प्रत्येक वर्ष असारदेखि भदौसम्म यो सडकमा ठूलो भेल आउँछ । त्यही भेलका कारण ढल फुटेर अघिल्लो वर्षको वैशाखदेखि नै यस स्थानमा भ्वाङ परेको थियो । तत्कालीन समयमा स्थानीय तहको निर्वाचन हुँदै गर्दा वडामा उठेका उम्मेदवारहरूले आफ्नो भाषणमा यो सडकलाई प्राथमिकतामा राखेको दाबी गर्दै विजयी भएलगत्तै यसको निर्माण र मर्मत सुरु गर्ने दाबी गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर निर्वाचन सम्पन्न भएको झण्डै १ वर्ष हुन लाग्दा पनि ढुङ्गेधारा–रानीवन सडकको नर्सरी चोकको बीच सडकमा परेको भ्वाङसमेत अझै पुरिएको छैन । १ वर्ष बित्दासमेत सडकको बीच भागमा रहेको भ्वाङ पुरिनुको साटो झन् झन् ठूलो बन्दै जाँदा पनि सरोकारवाला निकायले वास्ता नगरेपछि स्थानीयले लठ्ठी गाडेर लेखे ‘नेपालको पहिलो रेल सुरुङमार्ग’ ।

एकै स्थानमा ४ दुर्घटना, वडा कार्यालयले सुनेन गुनासो

पानी पर्दा यो सडकमा ठूलै भेल आउने गरेको छ । भेल आएपछि सडकमा कहाँ भ्वाङ परेको छ, त्यो केही देखिँदैन । यो बाटोमा अभ्यस्त नभएका व्यक्तिहरू पनि धेरै पटक यस स्थानमा दुर्घटनामा परिसकेका छन् । स्थानीयका अनसार केही समयअगाडि मात्रै १ दिनको फरकमा दुईवटा मोटरसाइकल यो भ्वाङमा परे । एक जनाको र हात र गोडा दुवै भाँचिए । भ्वाङमा परेको मोटरसाइकल तान्न ४ घण्टा लाग्यो । पानी परिरहेको बेला भएको एउटा दुर्घटनामा झण्डै व्यक्तिको ज्यान नै गयो । स्थानीयले उद्धार गरेर अस्पताल पठाएपछि बल्ल उनको ज्यान जोगियो ।

पटक पटक दुर्घटनामा परेपछि स्थानीयले यतिबेला इनार बनाउने एउटा रिङ ल्याएर त्यो भ्वाङ परेको स्थानको माथि राखेका छन् । तर ठूलो पानी परेर भेल आएको बेला त्यो रिङ पनि देखिँदैन र दुर्घटनाको जोखिम अझै उत्तिकै छ । तर पनि वडा कार्यालय र महानगरपालिकाले केही नसुनेको स्थानीयको गुनासो छ ।

स्थानीयले केही समय पहिले मात्रै यही स्थानमा यसैगरी लठ्ठी गाडेर त्यसमा लेखेका थिए, ‘नेपालको पहिलो सुरुङ मार्ग, रानीवन टु बालुवाटार ।’ तर पछि त्यो पानीले बगाएपछि फेरि नयाँ शब्द खर्च गरेर व्यङ्ग्य गरे । उनको यो व्यङ्ग्य केपी ओलीको किस्सालाई थिएन, बरु उनीहरूको आक्रोश सडकको मर्मत नहुनुमा थियो । भ्वाङ परेको सडक छेउकै फ्रेन्ड्ली मार्ट चलाएका सञ्चालक भन्छन्, ‘भन्दाभन्दा थाकियो । अब त दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल पुर्याउने काम मात्रै भएको छ ।’

यता काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल भने सडक बनाउने जिम्मेवारी आफ्नो मात्रै नभएको भन्दै सबै मिलेर बनाउनुपर्ने बताउँछन् । अहिले जुन स्थानमा भ्वाङ परेको छ, त्यो स्थान काठमाडौं महानगरपालिकाको वडा नम्बर १५, १६ र नागार्जुन नगरपालिकाको वडा नम्बर १ मा पर्छ । जसका कारण सडक मर्मतका लागि कसले बजेट हाल्ने भन्ने विवाद हुँदा सडक बन्न नसकेको वडाध्यक्ष रिजालको जिकिर छ ।

वडाध्यक्ष मुकुन्द रिजालका अनुसार माथिबाट आउने ढल धेरै भएको र तलतिर पाइप सानो हुँदा प्रत्येक पटक ढल फुट्ने गरेकाले समस्या भएको उनी बताउँछन् । अहिले काठमाडौं महानगरपालिकाले १ करोड ४२ लाख र नागार्जुन नगरपालिकाले ५० लाख रुपियाँ खर्च गरेर ढलसहित सडक मर्मत गर्न लागिएको रिजाल बताउँछन् । यद्यपि सामान्य काम गर्न पनि नसकिएकामा लाज भएको भन्दै अब चाँडै सडकको भ्वाङ पुर्ने र मर्मत गर्ने उनी बताउँछन् ।

अहिले सडकको मर्मतको ठेक्का भइसकेको भन्दै भ्वाङ पुर्न मात्रै खर्च गरे त्यो भ्रष्टाचार हुने वडाध्यक्ष रिजाल बताउँछन् । उनी भन्छन्, ‘सडकको एउटा भ्वाङ पुर्न वर्षदिन लाग्ने भन्ने होइन तर ठेक्का भइसकेको स्थानमा हामीले मर्मत गर्न थाल्यौं भने त्यो भ्रष्टाचारजन्य काम हुन्छ । जसका कारण हामीलाई त्यो भ्वाङ पुर्न अप्ठ्यारो भइरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com