आदिवासी जनजाति महासंघले कटौती बिदा पुनरावलोकनको पहलका लागि गरे, प्रचण्डसँग आग्रह


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

वैशाख २०, काठमाडौं । आदिवासी जनजाति महासंघका प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन्। बिहीवार बिहान प्रचण्डनिवास खुमलटारमा पुगी उनीहरुले सांस्कृतिक पर्वमा पाउँदै आएको बिदा कटौती नगर्न भन्दै ज्ञापनपत्र बुझाएका हुन्। अध्यक्ष प्रचण्डले समुदायसँग छलफल नगरी कटौती भएका बिदा पुनरावलोकनको पहल गर्ने बताए। विदा धेरै भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने उनले बताए। सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको प्रचण्ड बताए। ‘अहिले दिइरहेको बिदा कटौती गर्ने भन्ने छलफल भएको विषय होइन। बिदाको पक्षमा तपाइँहरूलाई मेरो सहयोग हुन्छ,’ उनले भने। अध्यक्षले प्रधानमन्त्रीसँग छलफल गरेर विदाका बारेमा टुंगो लगाउने बताए। आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको विषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिलाए। महासंघका प्रतिनिधिले पर्व विदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धि भएको भन्दै सरकारले सरसल्लाहविना नै बिदा कटौती गरेको बताए। त्यसैगरी आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निष्क्रिय बनाएको, गुम्बा विकासमा बजेट नदिएको दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका गुनासो आदिवासी जनजातिहरुको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com