विमान दुर्घटनामा बाँचेकी एकमात्र चिकित्सक समिरा रुदैरुदै भन्छिन् : ‘म बाँचे तर….


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

उनी हाँस्न खोज्छिन् तर काटेको ओठ सिलाइएको छ। आफैँ हिँड्न खोज्छिन् तर दुवै खुट्टालाई सहारा चाहिन्छ।

२४ वर्षीया समिरा व्यञ्जनकारले हाँस्न खोज्नु वा खुसी देखाउन खोज्नुमा खासगरी तीन कारण जोडिएका छन्। पहिलो- आमाबुवा, जो अनवरतरुपमा अस्पतालमै उनको हेरविचार गरिरहेका छन्, चिकित्सक र नर्ससँगै। समिराको खाना, निद्रा र प्रतिक्रियासँग जोडिएको छ उनीहरुको खुसी। दोस्रो, भयानक विमान दुर्घटनामा घाइते भएको आफ्नो शरीर विस्तारै निको हुँदै छ। तेस्रो, अस्पतालमै रहँदा बंगलादेशबाट सूचना आएको छ उनले एमबीबीएस उत्तीर्ण गरेको। र, ‘इन्टर्नसिप’का लागि पनि सहयोग गर्न प्रतिबद्ध छन त्यहाँ शिक्षकहरु।

तर, शरीरका गहिरा चोटहरु पुरिँदै गएपनि विमान दुर्घटनामा आफ्ना १२ जना मिल्ने साथी र अन्यलाई गुमाउँदा दबिएको उनको मनको खुसी फक्रिन सकेको छैन यतिका दिनसम्म पनि, बरु उनको ध्यान ती साथीका परिवारको पीडातर्फ मोडिन्छ पटकपटक।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५० दिनपछि कुरा गर्न राजी हुँदा

गत फागुन २८ गते युएस बंग्लाको विमान दुर्घटनामा गम्भीर घाइते बनेकी समिरा ५० दिनको प्रतिक्षापछि बिहीबार कुराकानी गर्न राजी भइन्। काठमाडौं मेडिकल कलेजबाट ललितपुरको मेडिसिटी हस्पिटलमा सरेकी समिराको शरीर मोटाएको थियो, अनुहार भिन्न देखिन्थ्यो तर आँखाहरु रसिला थिए।

आफू निको हुँदै गएको समिराले बताउँदा सँगै रहेका बुवा अष्टवीर मानन्धरका आँखा खुसीका आँसुले भरिए तर घाइते अवस्थामै धेरै दिनसम्म अस्पतालमा सँगै रहेकी मिल्ने साथी प्रिन्सी धामी पनि नरहेको कुराले समिरा भक्कानिन थालेपछि अष्टवीर झ्यालतिर मोडिँदै रुन थाले।

‘प्रिन्सीको मल्टिपल फ्याक्चरहरु थियो। छातीमा पनि पानी जमेको थियो। ४/५ दिनपछि उनको होस आयो। नर्सले सुइ दिँदा खुट्टा हल्लाउन खोज्थिन मैले त्यसो गर्नु हुन्न भन्थे अनि चुप लाग्थिन्। मलाई अलि निको भयो र अर्को वर्डामा सारियो। उनी त्यहीँ थिइन्, डर लागिरहेको थियो। इन्डिया लगिँदै गरेको खबर पनि आयो तर उनी रहिनन्’, समिराले फेरि आँखाभरि आँसु पार्दै भनिन्।

हुन त समिराकी मिल्ने साथी प्रिन्सी मात्र थिइनन्। एउटै कोठामा पाँच वर्ष बिताएका चारु बराल र आश्ना शाक्यसहित अन्य १२ जना साथीको ज्यान पनि त्यो दुर्घटनाले लिएको थियो। उनीहरुले नेपालबाट चिकित्सक बन्ने सपना बुन्दै बंगलादेश पुगेर परिवार भुल्दै निकै मेहनत गरेका थिए। सँगै अध्ययन मात्रै पनि गरेनन्, थाक्दा रमाइलो गरे, घुमे र परिआउँदा अभिभावकको भूमिका समेत खेले समिराका साथीले।

त्यो यादले समिराको मुटु भारी भइरहेको छ। उनीहरुलाई भुल्ने ओखती पाए कति खान्थिन् होला समिराले मैले प्रश्न गर्दागर्दै मनमनै सोचेँ। तर पनि त्यो पीडाबाट उठ्नुको विकल्प छैन समिरासँग।

फरक फरक प्रश्नमा पनि समिराको एउटा वाक्य दोहोरिरह्यो ‘म बाँचे तर त्यति धेरै मिल्ने साथीहरु छैनन् मसँग अब, भाग्यमानी भनुँ या अभागी भनुँ मलाई।’

समिरा अबको एक सातामा ‘डिस्चार्ज’ हुँदै छिन्, अस्पतालको अत्यासलाग्दो लामो बसाइपछि। अझै उनलाई पूर्ण ठिक हुन ६ महिना लाग्ने चिकित्सकले बताएका छन्। पहिलो एक महिना ‘बेड रेस्ट’, बाँकी तीन महिना हल्का मात्रै ‘मुभमेन्ट’। त्यसपछि पनि कडा दौडधूप गर्न मिल्ने छैन उनलाई । उनको ‘हिप’ तीन ठाउँमा ‘फ्याक्चर’ भएको छ।

समिराका अघि अझ अर्को ठूलो चुनौती थपिएको छ। ‘इन्टर्नसिप’ गर्न त्यही ठाउँमा जानु छ जहाँ उनका साथीहरुका मिठा मात्रै यादहरु छन्। त्यो यादमा उनले आफ्नौ दैनिकी अघि बढाउन सक्छिन् कि सक्दिनन् भन्नेबारे सोच्नै सकेकी छैनन् उनले तर जानु पर्ने उनको बाध्यता बनेको छ।

‘इन्टर्नसिपका लागि कलेजबाट बोलाइसक्नु भएको छ। म कसरी जाउँला त्यो रित्तो ठाउँमा, त्यही रुममा कसरी बसुँला जहाँ मेरा साथीहरु सुत्थे, सँगै पढ्थे र सँगै खान्थे, मायासँगै हेरविचार गर्थे,’ थामिएका आँसु फेरि बगाउँदै समिराले भनिन्।

अनौठो लाग्ने गरी विमान उड्यो
विदेशको अध्ययन, विमानको यात्रा सामान्य बनिसकेको थियो समिराका लागि। तर फागुन २८ गते भने उनलाई अनौठो लाग्यो, जब विमान विमानस्थलमा ‘ल्याण्ड’ हुनै लाग्दा एक्कासी माथि उड्न लाग्यो। निदाइरहेका साथीहरु झस्किए र डरले मुखामुख गर्न थाले।

समिराका अनुसार विमान कहिले पहाड, कहिले घर छुने स्थितिमा पुग्न थाल्यो। सबै चिच्चाउन थाले। एक्कासी घटकघटक गर्दै पाखातिर बजारियो। खुट्टामा पानी परेपछि समिराको चेत खुल्यो। उनी थिचिएकी थिइन् तर सिटबेल्टले रोकेको थियो उनको शरीर। समिराले सँगै रहेकी साथी प्रिन्सीलाई हल्लाउन खोजिन् तर उनीबाट कुनै प्रतिक्रिया आएन। अघिपछि र दायाँ बायाँ रहेका साथीसम्म हात पुर्‍याइन् तर कोही बोलेनन्। त्यसपछि उनी डरले काँप्न थालिन्।

‘कम्भर मुनिको भाग चलेन। माथिबाट खन्न थालियो। कसैले हात तान्न थाले तर मलाई सीट बेल्टले रोकिरहेको थियो। सेनाले पछि निकालेर अस्पताल पुर्‍याउनुभयो’, समिराले दुर्घटनाको क्षण सम्झिन्।

७२ जना यात्रीहरुमध्ये विमानमा सवार चालक दलका सदस्य सहित ५१ जनाको ज्यान गएको थियो त्यो दुर्घटनामा। मृत्यु हुने २२ जना नेपालीमध्ये १२ जना समिराकै साथी थिए। २० जना घाइते मध्येकी एक जना उनै समिरा जो अहिलेसम्म पनि अस्पतालमै बस्न बाध्य छन्।

सँगै पार्टी गर्ने योजना अपुरो
कुरा गर्दै जाँदा साथीहरुसँग बंगलादेशमा बिताएका दिनहरुको सम्झनामा समिरा अझै भावुक बनिन्। मेहनेत गरेर अध्ययन गरेका सबै साथी एमबीबीएसमा उत्तीर्ण हुने लगभग पक्का थियो। त्यसैले नतिजा आउनासाथ सबै मिलेर पार्टी गर्ने योजना बनाएका थिए उनीहरुले। तर, त्यो योजना विमान दुर्घटनासँगै चुँडियो। आफन्तलाई धेरै समय खर्चिएर किनिदिएका गिफ्ट पनि साथीसँगै बिलाए समिराका। अधिकांश गिफ्ट तिनै साथीहरुले किनिदिएका थिए समिराका लागि।

सबैले मलाई छोराछोरी मान्नुहोस्
त्यसो त बंगलादेशमा छोराछोरीलाई एमबीबीएस पढाउन थालेपछि नेपालमा उनका अभिभावकहरु पनि साथी बन्न पुगेका थिए, उता छोराछोरीको निकटता बढ्दै जाँदा। यसअघि समिराकी आमा सरितासँगको अन्तर्वार्तामा सरिताले भनेको याद आयो, ‘उता छोराछोरी एकअर्काको अभिभावक बन्दा यता हामी साथी बनेका थियौं। आज अरु छोरीछोरी नपाउँदा मन रोइरहेको छ।’ सरिता समिराका साथी सम्झिएर अहिले पनि रोइरहेकी छन्। बुवा अष्टवीरले पनि आँसु थाम्न सकेका छैनन्।

बुवा अस्टबीर मानन्धरका साथमा समिरा
न त समिरा नै आफ्ना साथीका बुवाआमा सम्झिएपछि मन थाम्न सक्छिन्। ‘उहाँहरुले छोराछोरी गुमाउँदै गर्दा मैले मेरा प्यारा साथीहरु गुमाएँ। म एक्लै बाँचे अब मलाई छोराछोरी दुवै मान्दिनुहोस्। जे परेपनि म तपाईँहरुसँगै छु । मैले सक्ने सहयोग गर्छु’, समिराले गुमाएका साथीका बुवाआमालाई लक्षित गरिन्।

पीडितले सरकारबाट सहयोग पाउनु पर्छ
विमान दुर्घटनामा ज्यान गएका नेपालीको परिवारले सरकारको प्रतिवद्धता अनुसार कुनै सहयोग नपाएको गुनासो छ। समिराको मन पनि यो कुराले पोलिरहेको छ। ‘उहाँहरुले धेरै नै दुःख गरेर बंगलादेशमा छोराछोरी पढाउनु भएको थियो जसरी मेरो बुवाआमाले गर्नु भयो। पछि छोराछोरीले नै पाल्ने विश्वास उहाँहरुलाई थियो। विमान दुर्घटनाले सबै खतम पार्‍यो। यतिबेला उहाँहरु निकै ठूलो पीडामा हुनुहुन्छ। उहाँहरुलाई सरकारले कुनै न कुनै रुपबाट राहत दिनु पर्छ ’, समिराले गम्भीर हुँदै भनिन्।

दुर्घटना र भएभरका साथी गुमाउदा समिरालाई बंगलादेश ‘इन्टर्नसिप’ गर्न जान आँट आएको छैन। ‘उता जाने आँटै आएको छैन। यतै इन्टर्नसिप गरौं की भन्ने लाग्छ । त्यसमा सरकारले सहयोग गरिदिएको भए राम्रो हुन्थ्यो’, उनले आशा व्यक्त गरिन्।

मेडिसिन या सर्जरी रोज्ने
समिराको बालमस्तिष्कले डाक्टर बन्ने सपना बुन्नुमा एउट तथ्य लुकेको छ। बच्चा हुँदा उनलाई धेरै रुघा लाग्थ्यो। चिसो भयो कि स्वास्थ्य गडबड हुने। उनलाई लिएर आमा सरिता सँधै मेडिकल धाउँथिन्। समिरा भने त्यहाँ आफूलाई सँधै उपचार गर्ने डाक्टरलाई नियाल्न पुग्थिन्। डाक्टर बनेपछि त अरुको सेवा गर्न पाइँदो रहेछ भन्ने लाग्यो उनलाई र डाक्टर नै पढ्ने निधो गरेकी थिइन्।

समिराको मनमा अर्का दुई कुरा पनि खेलिरहेका छन् यतिबेला। पहिलो, एमडी गर्दा मेडिसिन अध्ययन गरेमा सुरुमै गरिब समुदायको सेवा गर्न पाइन्छ। किनभने सबैभन्दा पहिले बिरामी पुग्ने मेडिसिन डाक्टरकैमा हो। सर्जरी विषय पढेमा भने अन्तिम अवस्थामा पुगेका बिरामीलाई पनि बचाउन सकिन्छ।

‘मेरो डाक्टर बन्ने इच्छा बुवाआमाले दुःख गरेर पुरा गर्नु भएको छ। अव बुवा आमाको इच्छा पुरा गर्ने जिम्मेवारी मेरै हुन्छ। त्यतिमात्रै होइन मैले जसको सेवा गर्छु भनेर अघि बढेको थिएँ त्यो पनि पूरा गर्नु छ ’, समिराले अन्तमा मनको कुनामा लुकेको दृढता देखाइन पीडाका बीच।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com