घरेलु हिंसा : प्रहरीमा मिलापत्र, घर पुगेपछि कुटपिट
प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार
इन्द्रसरा खड्का –
ललितपुर । काठमाडौं तीनकुनेकी वसन्ती महत गएको पुस महिनायता ३ पटक प्रहरीकहाँ पुगिसकेकी छिन् । घरेलु हिंसाबाट पीडित उनी न्याय माग्दै पटक पटक प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटी पुगेकी हुन् ।

श्रीमानले कुटपिट गर्ने, परिवारले विना कारण चरित्रमा प्रश्न उठाउने गरेर घरमै बस्न नसक्ने भएपछि प्रहरीमा आएको बताईन् । पहिलोपटक २०७४ पुस २१ गते प्रहरीमा पुगेकी थिईन् ।
प्रहरीमा श्रीमान कल्याण सिंह महतसँग अबदेखि कुटपिट नगर्ने सहमती भयो । लिखित रुपमै ‘कुटपिट नगर्ने, राम्रो व्यवहार गर्ने’ कालिमाटीको महिला तथा बालबालिका सेवा केन्द्रमा सहमती भएको थियो ।
वसन्तीले भनिन्, ‘प्रहरीमा जाँदा भोलिदेखि राम्रो व्यवहार गर्छु भनेपछि मेलमिलाप गरेर घर फर्किएँ तर घर फर्केको भोलिपल्ट श्रीमान र परिवारका सबैले पहिलेकै जस्तो व्यवहार गर्छन् ।’
पहिलो पटकको मिलापत्र पछि श्रीमान सासू, देवरले उस्तै व्यवहार दोहोर्याए । कुटपिट र गालीको सिलसिला दोहोरियो । घरमै बस्न नदिएपछि २०७४ फागुन ११ गते दोस्रोटक प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा पुगिन् ।
प्रहरीले श्रीमान सहित परिवारका अन्य सदस्यलाई बोलायो । घरेलु हिंसा दोहोर्याएको विषयमा छलफल भयो । त्यसपछि २ महिना भित्रै उनलाई घरको २ कोठा दिने, हिंसा नगर्ने भनी प्रहरीमा सहमती गरियो ।
‘अब त सुखले बस्न पाउँछु’ भन्ने आशामा वसन्ती घर फर्किइन् । तर प्रहरीमा गरेको सहमती पुरा गर्न परिवारले वास्ता नै गरेनन् । उल्टै घरबाट निकाला गरिदिए ।
२ महिना हुँदासम्म केही सुनुवाई नगरी उल्टै घरबाटै निकालेपछि उनी महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा तेस्रोपटक वैशाख ११ गते पुगेकी थिईन् ।
वैशाख ११ गते कालीमाटि प्रहरीमा भेटिएकी वसन्तीले भनिन्, ‘बाहिर एक्लै हिँड्न पाईंदैन । कोही केटासँग बोल्न हुँदैन चरित्रमा प्रश्न उठाइहाल्छन् ।’
वसन्तीले कल्याणसँग बिहे गरेको १८ वर्ष भयो । १६ वर्षको छोरा छ । बिहे गरेको १ वर्षसम्म सम्बन्ध राम्रै थियो । विहेपछि श्रीमान विदेश गए । त्यसैबेलादेखि ससुरा र देवरले दुव्र्यवहार गर्न थाले । आफुले उनीहरुको कुरा नमान्दा अनेक थरीका आरोप लगाएको वसन्तीले बताईन् ।
घरबाटै निकाला भएपछि छोरा सहित माइतीमा बस्दै आएकी छिन् । माइतीका बुबा आमा भारत बस्छन् । परिवारबाट निकाला भएपछि अहिले ठूलो बुबासँग बस्दै आएको उनले बताईन् ।
भक्तपुरको बालकोेटकी ३८ वर्षीया आरती खत्री पनि प्रहरी, अदालत जाँदाजाँदै थाकिसकिन् । श्रीमान, घरपरिवारले घरमा बस्न नदिने, खान लगाउन नदिइ कुटपिट गर्न थालेपछि २०७० सालदेखि कहिले प्रहरी त कहिले अदालत धाउन थालेकी हुन् ।
सासु, ससुरा र नन्दले अनावश्यक कुरा श्रीमानलाई सुनाउन थालेपछि श्रीमानले कुटपिट गर्न थाले । कहिले खान लाउन नदिने, घरमा बस्न नदिने गरेपछि उनले २०७० बैशाख ५ गते पहिलो पटक सम्बन्ध बिच्छेदको लागि जिल्ला अदालत भक्तपुरमा मुद्दा हालिन् ।
अदालतमा ३ पटक तारिक लिसकेपछि उनका श्रीमान सुशील खत्री थाहै नदिइ भागेर विदेश गए । त्यसपछि मुद्दा अघि बढेन । श्रीमान् घरमा नहुँदा सासु, ससुरा र नन्दले सानो निहुँमा पनि सधै पिट्न थाले ।
उनको घरको आडैमा प्रहरी चौकी छ । दिनुहँ घरमा कलोहल बढ्न प्रहरीमा जान थालिन् । तर, प्रहरीले न्याय दिनुको सट्टा उल्लै ‘तपाईको कहिल्यै नसकिने झगडा लिएर नआउनुस्’ भन्न थालेको उनले बताईन् ।
पछिल्लो समय उनी ठिमी प्रहरीमा जाने गरेकी छिन् । प्रहरीमा चौकीमा ४ पटक उजुरी दिएपनि मेलमिलाप गरेर फर्काउने गरेकाले अहिलेसम्म न्याय नपााएको बताइन् ।
बालकोटका सुनिल खत्रीसँग २०६३ सालमा आरतीको प्रेम बिहे भएको थियो । सुनिल र आरती ५ वर्षसम्म लोकन्थलीमा भाडामा बसे । त्यतिन्जेलसम्म सम्बन्ध राम्रै थियो ।
‘नजिकैै घर भएकाले घरपरिवारले घरमै बस्न आउ भने ।’ आरतीले भनिन्, ‘घर जानु पहिले श्रीमानको व्यवहार राम्रै भएपनि घर बस्न थालेपछि खपटट सुरु भयो ।’
श्रीमान काम गर्दैनथे । घर सरेपछि जागिर पनि छुट्यो । काम गर्छु भन्दा पनि श्रीमानले चरित्रमा शंका गरेर पिछा गर्न थालेको उनले बताईन् ।
घरमा सासु नन्दले पिट्न थालेपछि उनले प्रहरी प्रभाग बालकोटमा २०७४ साल पुषमा उजुरी दिएकी थिईन् । प्रहरीले सासु नन्दलाई प्रहरी चौकीमै झिकाएपछि प्रहरीकै सामु सासुले पिटेको उनले बताईन् ।
प्रहरी सामु नै सासुले पिट्दा पनि प्रहरी रमिते बनेर हेरिरहेको उनको आरोप छ । त्यसपछि पनि पटक पटक कुटपिट गरेको आरतीले बताईन् । उनले भनिन्, ‘प्रहरीमा उजुरी गर्दा घरमा मिल्ने बताउँदै कागज गर्छन् घर पुगेपछि उस्तै व्यवहार दोहोर्याउँछन् ।’
पुसअघि उनी २०७४ भदौ महिनामा महानगरीय प्रहरी प्रभाग ठिमीमा उजुरी गरेकी थिईन् । त्यहाँ श्रीमानले खान लगाउन महिनाको २० हजार दिने सहमती भयो । श्रीमानले महिनामा २० हजार खर्च दिएपछि सम्बन्ध बिच्छेद गर्ने भन्दै घर छोड्न आग्रह गर्याे ।
तर त्यो सहमति गरे लगत्तै श्रीमान सम्पर्क बिहीन भए । मोबाइलमा पनि फोन नलाग्ने गरी उनी सम्पर्क बिहीन भएपछि सासुले झन् कुटपिट गर्न थालेको उनले बताइन् ।
महानगरीय प्रहरी प्रभाग बालकोट, सुर्य बिनायक नगरपालिका वडानम्बर २ का वडा सदस्य सुवास कार्की लगायतले परिवारका अन्य सदस्यसँग मिलेर आफूलाई उल्टो गाली गर्ने गरेको उनले आरोप लगाईन् ।
यता उनका श्रीमान सुनिल खत्री भने आफुले श्रमतीलाइ पुरै घर दिएर आफु बहिनीको घरमा बस्दै आएको बताए । बालकोटमा रहेको घरमा अहिले छोरा र श्रीमती बस्दै आएका छन् । सुनिलले परिवारसँग नमिलेपछि आफुले पनि आरतीको वास्ता गर्न छाडेको बताए ।
घरेलु हिंसाबाट प्रभावित महिलाले न्यायको लागि प्रहरीमा उजुरी गर्छन् । परिवारका सदस्य अर्को पटकदेखि हिंसा नगर्ने सहमती गर्छन् । तर, महिलालाई घर पुग्ने बित्तिकै थप हिंसा गर्छन् ।
माथिका दुई महिला जस्तै रुपन्देहीकी सारदा भट्टराई पनि घरेलु हिंसाबाट न्याय पाउन पटक पटक उजुरी गर्ने महिला हुन् । रुपन्देहीको सैनामैना नगरपालिका ६ की गर्भवती सारदले घरेलु हिंसा भएपछि २ पटकसम्म प्रहरीमा उजुरी गरिन् ।
दुई पटक नै प्रहरीले परिवारसँग मिलपत्र गरायो । तर, प्रहरीमा गरेको मिलापत्र कार्यान्वयन नगरेपछि तेस्रो पटक सैनामैना नगरपालिकाको न्यायिक समितिले मिलापत्र गराएको छ । पछिल्लो पटक चैत ३० गते उनको मिलापत्र भएको हो ।
साढे २ महिनाकी गर्भवती सारदा भट्टराईलाई उनको श्रीमान हिमालले मादक पदार्थ सेवन गरी कुट्ने र सासु उमाकलाले दाइजो नल्याएको भनी यातना दिने गरेको प्रहरीमा उजुरी गरेकी थिईन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख इन्स्पेक्टर दिपेश बस्यालका अनुसार प्रहरी पनि रोहवरमा बसेर तेस्रोपटक मिलापत्र गरिएको हो । उनले अब मानसिक र शारीरिक यातना नदिने भनी मिलापत्र गरेको बताए ।
सैनामैना नगरपालिकाकी उपप्रमुख तथा स्थानीय न्यायिक समितिकी संयोजक विना रानाको अध्यक्षतामा बसेको छलफलले श्रीमानले कुटपिट नगर्ने र सासूले दाइजोको निहुँमा यतना नदिने सहमती भएको छ ।
देशभर नै घरेलु हिंसाको उजुरी बढ्दै गएको छ । यो तथ्य प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीको तथ्यांकले पनि पुष्टि गर्छ ।
चालुआर्थिक बर्षको अहिले सम्म बालबालिका सेवा केन्द्र कालिमाटीमा ७ सय ६१ वटा घरेलु हिंसाका उजुरी परेका छन् । जसमध्ये ३ सय २७ वटा उजुरीको मेलमिलाप भइसकेको छ भने १ सय २९ वटा उजुरी अदालतमा पठाएको केन्द्रकी निमित्त प्रमुख निर्मला ओझाले बताईन् ।
उनका अनुसार कार्यलयमा सबैभन्दा बढी श्रीमान श्रीमती, सासु, नन्दसँगको झगडा, कुटपिट बहुविवाह लगायतका उजुरी छन् । उनले घरेलु हिंसाका उजुरी लिएर आउने महिलालाई सबैभन्दा पहिले मेलमिलापमा जोड दिने बताईन् । पटक पटक छलफल गराएर पनि मिलापत्र नभएको खण्डमा मात्रै अदालत पठाउने उनको भनाई छ ।
नेपाल प्रहरीको पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार घरेलु हिंसाका करिब ३० हजार उजुरी दर्ता भएका छन् । घरेलु हिंसाका उजुरी वर्षेनी बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
नेपालभर आर्थिक वर्ष २०७१/७२ मा ८ हजार २ सय ६८, २०७२/७३ मा ९ हजार ३ सय ९८ र आर्थिक वर्ष २०७३/०७४ मा ११ हजार ६ सय २९ वटा घरेलु हिंसाको उजुरी दर्ता भएका छन् ।
घरेलु हिंसा कसुर सजाय ऐन २०६६ ले पनि मिलापत्रलाई जोड दिएको छ । ऐनले घरेलु हिंसाको पीडितले चाहेमा प्रहरी कार्यालय र स्थानीय निकायले उजुरी परेको मितिले तीस दिनभित्र दुवै पक्षबीच मेलमिलाप गराइदिनु पर्ने उल्लेख गरिएको छ । यद्यपी पटक पटकको मिलापत्रको बारेमा ऐनले बोलेको छैन ।
अधिवक्ता विष्णुमाया भुसालका अनुसार घरेलु हिंसामा सकेसम्म मेलमिलाप गराउनुपर्ने भएपनि प्रहरीले पटक पटक मिलापत्र भने गराउन नहुने बताउँछिन् । उनले प्रहरीले उजुरीको अनुसन्धान गरि अदालत पठाउनुपर्ने बताईन् ।






