नागढुंगा–धुलिखेल मेट्रो रेलको सम्भाव्यता अध्ययन हुँदै
प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार
सरकारले नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल निर्माण तथा सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको बैठकले काठमाडौं उपत्यकाको रुट नम्बर २ मा मेट्रो रेलको सम्भाव्यता अध्ययनको आशयपत्रसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।
बैठकले सम्भाव्यता अध्ययनको आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशनसमेत दिएको छ ।
आशयपत्रको दस्ताबेज स्वीकृत भएकाले कार्यालयले अब तत्कालै आयशपत्र माग गर्नेछ । यसअघि २७ कात्तिक ०७४ मा बसेको बोर्ड बैठकले पनि यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउने निर्णय गरेको थियो ।
काठमाडौं मेट्रो रेलको रुट नं २ अन्तर्गत बन्ने यो परियोजना ५४ किलोमिटर लम्बाइको हुने अनुमान छ । त्यस्तै, बोर्ड बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय–सीमासमेत थपेको छ ।
आयोजनाको प्रवद्र्धक कम्पनीलाई आगामी १२ असोज, ०७५ सम्ममा लगानी जुटाउने समय दिइएको हो ।
बैठकले सरकारी स्रोतबाटै सिसा उद्योग, से–फोक्सुन्डो लक्जरी रिसोर्ट, एकीकृत कृषि परियोजना, स्की रिसोर्ट र स्वास्थ्य, शिक्षा तथा खेलकुदलगायत आयोजनाको सम्भाव्यता अध्ययन गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, मुक्तिनाथ दर्शन प्रालि नामक निजी कम्पनीलाई बिरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकारको आयोजना निर्माणका लागि विस्तृत अध्ययन गर्न स्वीकृतिसमेत दिएको छ । जसमा सरकारलाई कुनै पनि दायित्व नपर्ने बोर्डले जनाएको छ ।






