लुम्बिनी विकास कोषको बेथितिः तीन दिनको कार्यक्रमका लागि ४ करोडको हल


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

वैशाख १२, गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा तीन दिनको कार्यक्रमको लागि चार करोड रुपियाँ खर्च गरेर सभाहल निर्माणको काम अहिले धमाधम भइरहेको छ । वैशाख १५ देखि १६ गतेसम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र त्यसको अर्को दिन पर्ने बुद्ध जयन्तीको लागि रातारात निर्माण गरिँदै आएको उक्त सभाहल सम्भवतस् ती कार्यक्रम सकिएलगत्तै भत्काउन सुरु गरिनेछ ।

किनकि पुरातत्त्वविद्हरूका अनुसार सो सभाहलको निर्माण लुम्बिनी गुरुयोजना विपरीत छ । दुई वर्षअगाडि बुद्ध जयन्तीको अघिल्लो दिन परेको पानी र हावाहुरीले कार्यक्रमका लागि टाँगिएका सबै पालहरू ढलेको देखेका त्यो बेलाका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिनै खेर सरकारले त्यहाँ अब ५ हजार मानिस बस्न मिल्ने सुविधासम्पन्न सभाहल बनाउने घोषणा गरे ।

तर दुई वर्षसम्म सभाहलको चर्चा, चर्चामै सीमित भयो । करिब एक महिनाअघि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नका लागि सहयोग माग्दै लुम्बिनी विकास कोषका पदाधिकारीहरू जब उनै प्रधानमन्त्री केपी ओलीकहाँ पुगे तब ओलीले एकमुष्ठ ६ करोड रुपियाँ दिने बताउँदै सभाहल समेत निर्माण गर्न निर्देशन दिए ।

त्यसपछि रातारात अस्थायी सभाहल निर्माणको काम सुरु भयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी भन्छन्, “सन् २०१६ मा पाहुनाहरूलाई हिलोमा राखेर काम गरेको देखेर प्रधानमन्त्री भावुक हुनुभयो । उहाँले पाँच हजार मानिस अट्ने सभाहल बनाउने घोषणा गर्नुभएको थियो । सोही मर्मअनुसार यसपालि उहाँ प्रधानमन्त्री भएपछि कम्तीमा तीन हजार मानिस अट्ने हल बनाउने भनेर सेना लगाएर बनाउँदै गरेका छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर सो स्थानमा निर्माण गरिएको हल लुम्बिनी गुरुयोजना अनुसार नभएकोले गुरुयोजना अनुसार जाने हो भने त्यसलाई भत्काउन पर्ने लुम्बिनीमा लामो समय काम गरेका वरिष्ठ पुरातत्वविद् वसन्त बिडारी बताउँछन् ।

“गुरुयोजनाअनुसार त्यो ठाउँमा ऊ थान्त स्मारक हल बन्नु पर्छ। यो त केवल अस्थायी हो । अब यत्रो खर्च गरेर बनाइँदैछ तर योजनाअनुसार गर्ने हो भने यो भत्काउनुपर्छ,” बिडारीले बताए ।

नेपाली सेनाले सभाहल निर्माण गर्दै गर्दा त्यहीँ नजिकै अर्को स्थायी सभाहल बनाउने भन्दै विकास कोषले करिब २७ करोड रुपैयाँमा ठेक्कासमेत दिइसकेको छ । त्यसको शिलान्यास बुद्ध जयन्तीका दिन प्रधानमन्त्री केपी ओलीले गर्ने बताइएको छ ।

जानकारहरूका अनुसार अहिले जुन स्थानमा सभाहलको लागि चार करोड रुपैयाँ खर्च गरिएको छ, त्यो खर्चमा गुरुयोजनाको क्षेत्रभन्दा बाहिर सभाहल बनाएको भए भत्काउन पनि नपर्ने र त्यसको प्रयोग लामो समयसम्म पनि गर्न सकिने अवस्था हुन्थ्यो । तर उनीहरूका अनुसार प्रधानमन्त्रीको निर्देशन पालना गर्ने नाममा लुम्बिनी विकास कोषले फेरि अर्को बेथितिको उदाहरण प्रस्तुत गरेको छ । बीबीसी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com