व्यवसायीले चिनीमा लगाएको भन्सार महसुल घटाउन आह्वान, सरकार निर्णयबाट पछि नहट्ने
प्रकाशित मिति : बैशाख १०, २०७५ सोमबार
वैशाख १०, विराटनगर । चिनी आयातकर्ता व्यवसायीले चिनीमा वृद्धि गरेको भन्सार महसुल घटाउन दबाब दिइरहँदा सरकारले भने निर्णयबाट पछि नहट्ने बताएको छ। चिनी आयातकर्ता व्यवसायीहरु चिनीको आयात ठप्प पारेर भन्सार घटाउन लबिङ गरिरहेका छन्। अर्थ मन्त्रालय उच्च स्रोतले गत मंगलबार गरिएको निर्णयबाट सरकार पछि नहट्ने बताएको छ।
तेस्रो मुलुकबाट चिनी आयात हुने वीरगञ्ज सुख्खा बन्दरगाह, विराटनगर, भैरहवा लगायतका नाकाहरुमा केही दिनबाट चिनीको आयात सुस्त भएको छ।
सुख्खा बन्दरगाह स्रोतले भन्यो, ‘भन्सार महसुल घटाउन मन्त्रालय र विभागमा लबिङ गर्दै व्यवसायीले चिनीको आयात रोकेका छन्।’
यस्तै चिनीको भन्सार महसुल बढेपछि चिनी आयातकर्ता व्यवसायीले भन्सार कार्यालयमै आएर चिनी गोदाममै राख्ने भनेर भनेको विराटनगर भन्सार कार्यालय प्रमुख मिमासं अधिकारीले बताए।
भन्सार विभागले केही दिनदेखि चिनीको आयात रोकिँदा भन्सार राजस्व सङ्कलनमा गिरावट आएको बताएको छ।
बजेटसँगै आउने आर्थिक अध्यादेशभन्दा अगाडि चिनीको भन्सार महसूलमा फेरि परिमार्जन हुन नसक्ने सरकारी अधिकारीले बताएका छन्।
विराटनगर भन्सार कार्यालयले गोदाममा राखिएको चिनीका कन्टेनर आयातकर्ताले लैजानेमा आश्वस्त रहेको जनाएको छ।
सोमबारसम्म विराटनगर भन्सारको गोदाममा १० भन्दा बढी कन्टेनर चिनी राखिएका छन्।
चिनी आयातकर्ता व्यवसायीहरुले भने गोदाम र सीमा नाकामा १ सय ५० भन्दा बढी कन्टेनर चिनी रहेको बताएका छन्।
एक कन्टेनरमा १६ देखि २५ मेट्रिकटन सम्म चिनी हुने गर्छ।
व्यवसायीहरुले चिनीको भन्सार नघाउने भए पनि चिनी खरिद गरेकै मूल्यमा भन्सार मूल्यांकन गर्न सरकारलाई दबाब दिएका छन्।
युवराज खतिवडा अर्थमन्त्री भएपछि चिनीको सन्दर्भ मूल्य ९रिफरेन्स भ्यालु० प्रति मेट्रिक टन ४ सय ६० डलर पुगेको थियो। चिनी आयातकर्ताले भने प्रति मेट्रिक टन ३ सय २० देखि ३ सय ४० सम्ममा चिनी ल्याउने गरेको बताउँदै आएका छन्।
सरकारले खरीद मूल्यभन्दा १ सय २० डलर बढीमा कर लगाउँदा घाटा परिरहेको व्यवसायीको दाबी छ।
बैशाख ४ गते चिनीको भन्सार मूल्य १५ प्रतिशतबाट ३० प्रतिशत पुर्याएको थियो। यस्तै चिनीमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गर्छ।
उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर एकका सदस्य एवं चिनी आयातकर्ता श्रवण अग्रवाल सरकारले निर्ममतापूर्वक चिनी आयात गर्ने व्यवसायीलाई पेलेको बताउँछन्।
चिनी ल्याएको परल मुल्यमा भन्सार महसुल तिर्न आपत्ति नभएको भन्दै चिनी आयातकर्ता शंकरलाल अग्रवाल सरकारले व्यवसायीलाई नोक्सानी हुने गरी सन्दर्भ मूल्यसूची राखेको बताउँछन्।
सरकारले सन्दर्भ मूल्यसूचीको विषयमा निर्णय नसच्याए आयात गरेको चिनी भन्सारमै थन्क्याउने उनले चेतावनी दिए।
भन्सार अधिकृतहरुले भने व्यवसायीको चेतावनीमा कुनै दम नभएको बताएका छन्।
सुख्खा बन्दरगाह प्रमुख सूर्यप्रसाद सेढाइँले व्यवसायीले २ महिनासम्म गोदाममा समान राख्न सक्ने बताए। उनले २ महिनासम्म भन्सारको गोदाममा रहेको कुनै पनि सामान क्लियर नभए भन्सार कार्यालयले १ साताको समय दिँदै आयातकर्तालाई सामान क्लियर गर्न पत्र लेख्ने र १ सातामा पनि भन्सार पास नभए उक्त सामान सरकारले जफत गर्न सक्ने कानूनी प्रावधान रहेको बताए।
सरकारले सामान जफत गर्ने सक्ने कानूनी प्रवाधानले गोदाममा थन्काएको चिनी केही समयपछि व्यवसायीले क्लियर गर्ने भन्सार अधिकृतको बुझाइ छ।
चिनी आयातकर्ता एक व्यवसायीले पनि भन्सारमा चिनी थन्क्याएर घाटा भइरहेको बताउँदै भन्सार महसुलमा परिमार्जन नभए पनि चिनी ल्याउने देशसञ्चारसँग बताए।






