आलुले मूल्य नपाउदा सयौं क्विन्टल आलु घरमै थन्कियो


प्रकाशित मिति : बैशाख १०, २०७५ सोमबार

वैशाख १०, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–३ फाइमहादेवका किसानले उत्पादन गरेको सयौं क्विन्टल आलु घरमै थन्किएको छ। खरिद गर्ने व्यापारी नआउँदा आलु घरमै थन्किएको हो। करिब चार सय घरधुरी रहेको यो फाइमहादेव गाउँका प्रतिघर तीनदेखि ५० क्विन्टलसम्म आलु उत्पादन भएकाले बजारमा अभाव भएको स्थानीय अगुवा किसान भक्तिप्रसाद पाण्डेले बताए। यसका साथै आयतित आलुले बजारमा पाउँदा गाउँमै उत्पादन भएको अर्गानिक आलुले बजार नपाएको पाण्डेले बताए। ‘बाहिरबाट आउने आलु बजारमा छ्यापछ्याप्ती छ,’ उनले भने, ‘हामीले उत्पादन गरेका अर्गानिक आलुले बजार नै पाएन।’ गत वर्ष गाउँमा अत्पादन भएको आलु प्रतिकेजी १० रुपैयाँका दरले बिक्री भए पनि यस वर्ष प्रतिकेजी पाँच रुपैयाँमा पनि बिक्री नभएका महादेव माध्यमिक विद्यालय प्रधानाध्यापक नरजंग शाहीले बताए। ‘किसानहरुको घरमा सयौं क्विन्टल आलु थन्किएको छ,’ उनले भने, ‘पाँच रुपैयाँमा खरिद गरेर लान व्यापारीलाई आग्रह गर्दा पनि बिक्री भएको छैन।’ नगरपालिकाभित्र उत्पादन भएका आलु बजारीकरणमा समस्या रहेकाले नरपालिकाले योजना तयार पारेर कृषिजन्य बस्तुलाई बजारीकरण गर्ने तिलागुफा नगरपालिका उप–प्रमुख दन्ता नेपालीले बताइन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com