शेरबहादुर देउवालाई दिएको समर्थन नेता कुलबहादुर गुरुङले लिए फिर्ता


प्रकाशित मिति : बैशाख ९, २०७५ आईतबार

वैशाख ९, काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको स्थगित रहेको बैठक आइतबार दिउँसोदेखि पार्टी कार्यालय सानेपामा जारी छ । बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाह गरेको भूमिकाबाट दुखित भएको भन्दै १३ औँ महाधिवेशनमा देउवालाई सभापतिमा गरेको प्रस्ताव फिर्ता लिएको घोषणा गरेका छन् । ‘मैले देउवाजीलाई १३ औं महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्ताव गरेको थिए । सभापतिका हैसियतमा उहाँको दुर्इ वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त दुखित हुन पुगेको छु,’ गुरुङले बैठकमा भने ।

उनले निर्वाचनमा पराजय भोग्नु पार्टीको नीति, कार्यकशैली वा नेतृत्वको असक्षमताका के कारणले भएको भन्ने समीक्षा हुनुपर्नेमा गम्भीरता नदेखिएको धारणा राखेका छन् । ‘वीपी कोइराले अवलम्बन गरेको बिचार र चिन्तनलाई छाडेका कारण कांग्रेस अहिलेको अवस्थामा पुगेको हो भन्ने मेरो निष्कर्ष छ । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिँदै कहिले हामी उग्रबामपन्थीसंग अंकमाल गर्न पुग्यौं भने कहिले उग्र दक्षिणपन्थीसंग,’ गुरुङले बैठकमा पेश गरेको लिखित अवधारणामा उल्लेख गरेका छन् ।

पार्टीको तीनै तहको निर्वाचनमा भएको पराजयको जिम्मेवारी संसदीय समिति र केन्द्रीय कार्यसमितिले लिनुपर्ने बताए । कांग्रेस पराजको समीक्षा केन्द्रीय समिति, महधिवेशन वा महासमिति बैठकबाट सम्भव नभएको बताए ।

उनले जिल्ला, नगर र गाँउको नयाँ संरचनाअनुसार पार्टीको विधान परिमार्जन गरी सबै तहको ६ महिनाभित्र सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबारको बैठकमा प्रदीप पौडेल लगायतका केन्द्रीय सदस्यले पनि सभापति देउवाको आलोचना गरेका छन् ।

गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समिति बैठक चैत १६ गते पार्टीका नेता खुमबहादुर खड्काको निधनमा स्थगित भएको थियो । शुक्रबार बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com