मालपोत कार्यालय, डिल्लीबजारमा मन्त्री लालबाबु पण्डितको आकस्मिक अनुगमन


प्रकाशित मिति : बैशाख ९, २०७५ आईतबार

वैशाख ९, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मालपोत कार्यालय डिल्लीबजारको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा ३० जना कर्मचारीमध्ये नौ जना लामो समयदेखि अनुस्थित र दुई जना ढिलो उपस्थित भएको भेटिएको छ। त्यसक्रममा मन्त्री पण्डितले कर्मचारी र सेवाग्राहीका कुरा सुनेका थिए। अनुगमनपछि कार्यालयको कामकाज सन्तोषजनक नदेखिएको पण्डितले बताए। मन्त्री पण्डितले कार्यालयका कायम मुकायम प्रमुख केशवप्रसाद न्यौपानेलाई कार्यालयको कामकाज सन्तोषजनक नदेखिएकाले आवश्यक व्यवस्थापन र कारबाहीका लागि सम्बन्‍धित मन्त्रालय र विभागमा पत्रचार गर्न निर्देशन दिएका छन्। उनले अनुपस्थित कर्मचारीको विवरण उपलब्ध गराउन समेत निर्देशन दिएका छन्। राष्ट्रसेवक र जनता दुवैको गुनासो सुनेर सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने आवश्यकता रहेकाले सार्वजनिक रुपमा आएका गुनासालाई परीक्षणका रुपमा छड्के अनुगमन गरिएको मन्त्री पण्डितले प्रष्टाए। अनुगमनका क्रममा समयमै सेवा प्रवाह गर्छन् कि गर्दैनन्, दरबन्दीअनुसारको कर्मचारी व्यवस्था छ कि छैन। समयमै काम शुरु गर्छन् कि गर्दैनन् भनेर जाँच गरेका थिए। अनुगमनपछि मन्त्री पण्डितले कर्मचारीहरु समयमा उपस्थित नभएको, जानकारीबिना बिदा बसेको र सेवाग्राहीको काम समयमा नहुने गरेको आफूले फेला पारेको बताए। उनले जनतालाई ठगेर खाने जो कोही कर्मचारीलाई कारबाही गरिने चेतावनी दिए। अनुगमनका क्रममा केही कमजोरी देखिएको र त्यसलाई सुधार गर्न लागिपर्ने उनले बताए। केही कमजोरी देखिएको र केही जनगुनासा आएका छन्। त्यसलाई सुधार गर्न आवश्यक छ। कार्यालय समयमा सुरु नभएको अनूभूति भएको छु, मन्त्री पण्डितले भने, समयमा सेवा प्रवाह गर्ने कार्यमा ढिलासुस्ती देखिएको पाइयो। यसबारे आवश्यक निर्देशन दिएको छु र थप निर्देशन दिनेछु। राष्ट्र सेवकलाई सेवा प्रवाहमा कुनै किसिमको सङ्कोच नमानी सहज र सरल रुपमा काम गराउन काम नगर्ने कर्मचारीहरुलाई विभागीय कारबाही गर्ने मन्त्री पण्डितले चेतावनी दिए। सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन लागिपर्ने अभियान भएकाले यसलाई निरन्तरता दिन आफू लागिपर्ने उनले बताए। अनुगमनमा सहभागी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले अनुगमनका क्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्न आवश्यक प्रकृयाअगाडि बढाइने बताए। त्यसक्रममा सेवाग्राहीले कर्मचारीहरु समयमै कार्यालयनमा उपस्थित नहुने, समयमा काम सम्पन्‍न नहुने, विद्युतीय उपकरणले काममा ढिलासुस्ती भएको गुनासो गरेका थिए। कार्यालयका कामु प्रमुख मालपोत अधिकृत केशवप्रसाद न्यौपानेले शहरी क्षेत्र भएकाले काम थोरै मात्रामा हुने गरेको र भिडभाड कम रहेको जानकारी गराएका थिए। उनले कर्यालयमा आवश्यक कर्मचारी संख्या अपुग रहेको समेत बताएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com