एमाले–माओवादी कार्यक्रममा मार्क्स र लेनिनको फोटो नराखिएको भन्दै कार्यकर्ताले गरे, नाराबाजी
प्रकाशित मिति : बैशाख ९, २०७५ आईतबार
वैशाख ९, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आयोजना गरेको संयुक्त कार्यक्रममा राखिएको ब्यानरका विषयमा असन्तुष्टि जनाउँदै कार्यकर्ताले नाराबाजी गरेका छन् ।
ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको भन्दै विशेषगरी माओवादी कार्यकर्ताले नाराबाजी गरेका हुन् । नाराबाजीमा एमालेका केही कार्यकर्तासमेत सहभागी छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस लेखिएको ब्यानरमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अलावा नेकपाका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको फोटो छ । श्रेष्ठ, अधिकारी र भण्डारीसंगै मार्क्स र लेनिनको पनि फोटो राख्नुपर्ने कार्यकर्ताको माग छ ।
राष्ट्रिय सभागृहमा मध्याह्न १२ बजे शुरु हुने भनिएको कार्यक्रम अझै शुरु हुन सकेको छैन । दोस्रो तहका नेता आइसके पनि शीर्ष नेता आइपुगेका छैनन् ।
नाराबाजी गरिरहेका कार्यकर्तालाई उmर्जामन्त्री समेत रहेका माओवादी नेता वर्षमान पुन अनन्तले सम्झाउने प्रयास गरे पनि कार्यकर्ताले नाराबाजी छाडेका छैनन् ।






