डोलेश्वर महादेवमा अक्षय तृतीयाको पूजा गर्न भक्तजनको घुइँचो
प्रकाशित मिति : बैशाख ५, २०७५ बुधबार
वैशाख ५, भक्तपुर । अक्षय तृतीयाको पूजा गर्न सूर्यविनायक ८ सिपाडोलमा रहेको केदारनाथको शिरका रुपमा लिइने डोलेश्वर महादेवको मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। अक्षय तृतीयाको अवसरमा मन्दिरभित्र पसेर पूजा गर्न पाइने भएकाले डोलेश्वरमा भक्तजनको घुँइचो लागेको हो। डोलेश्वरमा वर्षको तीन दिन अक्षय तृतीया, डोलेश्वरलाई केदारनाथको शिरभाग घोषणा गरिएको दिन भदौ ६ गते र शिवरात्रीको दिन मन्दिरको चारै ढोका खुल्ला हुने र भक्तजनहरूलाई मन्दिरभित्र पसेर पूजा गर्ने दिने व्यवस्था गरिन्छ। बिहानैदेखि भक्तजनहरूको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ। पछिल्लो समय धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजाआजा गर्न उपत्यकालगायत देश विदेशबाट समेत भक्तजनहरू आउने गरेका छन्। मन्दिर परिसरमा जौको सातु, सर्वत र फलफूललगायतका प्रसाद वितरण गरिएको समितिका सचिव मोशन बल्ले जानकारी दिए।






