सुन व्यवसायी हत्याको आरोपमा दुर्इ अभियुक्त पक्राउ


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

वैशाख ३, भद्रपुर, झापा । झापाको बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न रहेका फरार दुर्इ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का २१ वर्षीय ‘मामा भान्जा’ भनिने सुरज चौधरी र बिर्तामोड २ का २२ वर्षीय राहुल राजेश साह रहेका छन्। विशेष सुराकीको आधारमा प्रहरीले झापाको बिर्तामोडबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई झापास्थित जिल्ला अदालतबाट सोमबार म्याद थप गरी अनुसन्धन अघि बढाएको प्रहरीले जनाएको छ। योसँगै व्यवसायी मुखियाको हत्यामा संलग्न पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि बिर्तामोड ३ सैनिक मोडका २९ वर्षीय पारसकुमार देव, बिर्तामोड त्रिवेणी टोलका १९ वर्षीय दीपेश पौडेल र सोही ठाउँका २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओलीलाई पक्राउ गरेको थियो। बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोरनजिक रहेको देवा ज्वेलर्सका सञ्चालक मुखिया फागुन २० गतेदेखि बेपत्ता भएको थिए। बेपत्ता भएको नौ दिनपछि मेची राजमार्गअन्तर्गत इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाडाको सडकबाट २० फिट तल जुटको बोराभित्र उनको शव कुहिएको अवस्थामा फेला परेको थियो। मुखियालाई व्यावसायिक रिसिबिका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए। उनीहरूलाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र सांगठिन अपराधमा मुद्दा चलाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com