टोखा नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याउने


प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार

चैत ३, काठमाडौं । टोखा नगरपालिकाले आम जनताको स्वास्थ्यलाई ध्यानमा राखी नगरस्तरीय अस्पताल सञ्चालन गर्ने भएको छ।

जनकल्याण सेवा केन्द्रले आज टोखा नगरपालिका वडा नं ९ मा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखाका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि अस्पताल सञ्चालन गर्न लागेको जानकारी दिए।

‘शिक्षा, स्वास्थ्यलाई संविधानको मौलिक अधिकारका रुपमा समावेश गरिएको छ। नगरका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालका लागि विभागमा स्वीकृतिका लागि अनुरोध गरि पठाएका छौँ, उनले भने।

नगरपालिका उपप्रमुख ज्ञानुमाया डंगोलले महिलाहरु धेरै रोगबाट पीडित हुने गरेको भन्दै यस्ता स्वास्थ्य शिविरले महिलाको स्वास्थ्य उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

सामाजिक काम गर्ने उदेश्यका साथ स्थापना भएको केन्द्रले गोरखा, चितवन, भोजपुरलगायतका क्षेत्रमा सामाजिक काम गर्नुका साथै १० पटकसम्म स्वास्थ्य शिविर सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए। रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com