बंगलादेशका मन्त्रीसहितको उच्चस्तरीय टोली काठमाडौँमा


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

युएस-बंगला विमान दुर्घटनामा परेपछि बं‌गलादेशका नागरिक उड्ययन मन्त्रीसहितको उच्चस्तरीय टोली म‌ंगलबार काठमाडौँ आइपुगेको छ ।

बंगलादेशका नागरिक उड्ययन तथा पर्यटन मन्त्री एकेएम शाहजाह कमलसहितको टोली मंगलबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

सोमबार भएको युएस‍-बंगलाको बोबार्डियर ड्यास क्यु४०० सिरिजको जहाज दुर्घटनापछिको अवस्थाबारे नेपाली पक्षसँग छलफल तथा घटनास्थलको अनुगमनका लागि बं‌गलादेशी मन्त्रीको टोली काठमाडौँ आइपुगेको हो ।

बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेदले विमान दुर्घटनाबारे बुझ्न मन्त्रीसहितको टोली पठाएकी हुन् । नेपाल र बंगलादेशबीच विमान दुर्घटनालाई लिएर विवाद भइरहेका बेला उनको आगमन भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली पक्षले एयर ट्राफिक कन्ट्रोलरले भनेको निर्देशन अनुसार दक्षिणबाट अवतरण नगरी उत्तर दिशातिर गएर एलाइन्मेन्ट नमिलाई अवतरण गराउँदा जहाज दुर्घटनामा परेको बताएको छ । बंगलादेशले भने एटिसीको गलत निर्देशनका कारण विमान दुर्घटनामा परेको दाबी गर्दै आएको छ ।

५० जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनामा नेपाली र बंगलादेशका धेरै नागरिकको ज्यान गएको थियो । मन्त्रीसँगै बं‌गलादेशको नागरिक उड्ययन प्राधिकरणका सुरक्षा निर्देशक हजरत शाहाजल पनि टोलीमा रहेका छन् ।

सोमबार ढाकाबाट ६७ यात्रु र ४ चालक दलका सदस्य लिएर उडेको युएस-बंगला एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा अहिलेसम्म ५० जनाको ज्यान गइसकेको छ ।

दुर्घटनामा परेको यो जहाजमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, २ जना माल्दिभ्सका, एकजना चिनियाँ र चारजना चालक दलका सदस्य सवार थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com