इच्छाविपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने-महानगरीय प्रहरी


प्रकाशित मिति : १३ फाल्गुन २०७४, आइतबार

महानगरीय प्रहरी परिसर, काठमाडौँले फागु पर्व(होली)मा अरुको इच्छाविपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने जनाएको छ ।

परिसरले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले यही फागुन १७ गतेको फागुलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार गरिएको बताउनुभयो ।

कोही कसैले बलजफ्ती गरे तत्काल प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । त्यस्ता व्यक्तिलाई मुद्दा चलाइने उहाँको भनाइ थियो ।

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने तथा सामाजिक आचरणविपरीतका क्रियाकलाप तथा झै–झगडा रोक्न प्रहरीको विभिन्न स्थानमा टोली परिचालन गरिने उहाँले बताउनुभयो ।

दुई सय जनाको सूचना दाता समूह

परिसरले राजधानीको सुरक्षा व्यवस्था सुदृढ गर्न सर्वसाधारणको सहभागितामा २०० जनाको सूचनादाता समूह गठन गरेको छ ।

परिसरको प्रमुख भएपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपरीक्षक पोखरेलले अपराधमुक्त राजधानी बनाउने उद्देश्यले गठन गरिएको सो समूहले प्रहरीको गतिविधिदेखि स्थानीय तहमा हुने आपराधिक गतिविधिबारे गोप्यरुपमा प्रहरीलाई सूचना दिने बताउनुभयो ।

ती युवाको परिचय गोप्य राखिने र उनीहरुले दिएको सूचनाका आधारमा काम कारबाही अघि बढाइने उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिसरका प्रमुख पोखरेलले भन्नुभयो, “राजधानीको विभिन्न स्थानमा बसोबास गर्ने विभिन्न क्षेत्रमा कार्यरत करिब २०० युवाको समूहले स्वयंसेवकका रुपमा अपराध नियन्त्रका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्, उनीहरुसँग सम्झौता प्रक्रिया अगाडि बढेको छ ।”

उक्त समूहमा चिकित्सक, इञ्जिनियर र विद्यार्थीदेखि सर्वसाधारणसम्म रहेका छन् । आफूले विभिन्न स्थानमा स्थानीयवासीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने तथा फरार अपराधीको खोजी तीव्र पार्ने कार्य प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

अहिलेसम्म राजधानीमा ३७२ जना अभियुक्त फरार सूचीमा रहेको जानकारी दिँदै उनीहरुको खोजी तीव्र पारिने वरिष्ठ उपरीक्षक पोखरेलले बताउनुभयो । आव २०७१/७२ मा चार हजार ७७३, आव २०७२/७३ मा चार हजार ९०२, आव २०७३÷७४ चार हजार ५८२ र चालु आव २०७४/७५ को हालसम्म तीन हजार ३४२ मुद्दा परिसरमा दर्ता भएको छ ।

रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com