२० वर्ष नाघेका सवारी साधन आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने


प्रकाशित मिति : १३ फाल्गुन २०७४, आइतबार

यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको छ।

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताए। दुवै नम्बर बुझाउनेले कबाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन्।

“चैत १ गतेदेखि २० वर्ष पुराना सवारी सडकमा गुडे ‘सीज’ गरी सरकारले लिलाम गर्छ, यसैले फागुन मसान्तसम्म पुराना सवारी व्यवस्थापनको सबै काम सक्न व्यवसायीलाई अनुरोध गरिएको छ”, उनले भने।

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनामा समेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको छ । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो।

उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिका विरुद्धमा अभियान सञ्चालन गरिरहेका रामबहादुर थापाले बताए।

विभागका महानिर्देशक भट्टराई विसं २०७३ फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताए।

नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो । गत वर्ष उपत्यकाबाट नहटेका २० वर्ष पुराना सवारी पनि फागुन मसान्तसम्म हटाइनुपर्ने विभागले जनाएको छ।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन् । ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको महानिर्देशक भट्टराईले बताए।

हाल देशभर २० वर्ष पुराना सवारी साधन पाँच हजार ५०० गुडिरहेको विभागले जनाएको छ। रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com