अधिनायकबादी वा कम्युनिष्ट पार्टीको सदस्यलाई अमेरिकामा प्रतिबन्ध के हो? के होइन ?
प्रकाशित मिति : माघ २७, २०७४ शनिबार
अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐनले कुनै पनि अधिनायकबादी वा कम्युनिष्ट पार्टीको सदस्यलाई अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ । ऐनको सेक्सन २१२ मा यदि कुनै व्यक्ति उसको देशमा वा अन्य देशमा कम्युनिष्ट वा अधिनायकबादी पार्टीको सदस्य वा आबद्ध रहेमा त्यस्तो व्यक्ति अमेरिका प्रवेशका लागि अयोग्य हुने जनाइएको छ ।
यदि कुनै व्यक्तिले कम्युनिष्ट पार्टीप्रति सदासयता देखाएको भएमा, सामान्य समर्थन गरेको भएमा, सहानुभूती देखाएको भएमा वा बौद्धिक रुची देखाएको भएमा भने अमेरिका आउनमा प्रतिबन्ध लागु हुँदैन । तर कुनै विभाग, शाखा वा संगठनमा रहेर काम गरेको वा नगद वा अन्य सहयोग गर्नेहरुको हकमा भने प्रतिबन्ध लागु हुन्छ ।
विगतमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका तर अमेरिका आउने बेलामा सदस्य नरहेकाहरुको सन्दर्भमा भने प्रतिबन्ध लागु हुँदैन । तर त्यस्ता व्यक्तिले भिसा आवेदन दिने बेलामा कम्तीमा ५ बर्ष पहिले नै कम्युनिष्ट पार्टीको सदस्यता त्यागेको प्रमाण पेश गर्नुपर्ने हुनसक्छ । चीन र भियतनाममा भिसा जारी गर्दा यस्तो प्रमाण पेश गर्नैपर्ने प्रावधान छ ।
अस्वयम्सेवी सदस्यताको हकमा पनि प्रतिबन्ध लागु हुँदैन । यदि कुनै व्यक्ति १६ बर्षभन्दा कम उमेरमा स्वयम्सेवकको रुपमा नभई बाध्यकारी रुपमा सदस्यता लिएको भएमा पनि प्रतिबन्ध लागु हुँदैन । १६ बर्ष भन्दा कम उमेरमा रोजगारका लागि, खाद्यान्नका लागि वा बाँच्ने कुनै आधारका लागि सदस्यता लिएको भएमा प्रतिबन्ध लागु हुँदैन । राजनीतिक दललाई खास सहयोग नगर्ने अर्थहिन सदस्यता छ भने पनि त्यस्तो प्रतिबन्धबाट बच्न सकिन्छ ।
यदि कुनै कम्युनिष्ट पार्टीको सदस्य व्यक्ति अमेरिकाका लागि खतरा छैन र त्यस्तो व्यक्ति आप्रवासी भिसामा अमेरिका आउनुपर्ने छ भने उसले छुट पाउनसक्छ । उसका बुबाआमा, दम्पत्ति, छोराछोरी, दाजुभाई तथा दिदीबहिनीहरु अमेरिकाको नागरिक छन् भने आप्रवासी भिसाका लागि कम्युनिष्ट पार्टीको सदस्यले पनि अमेरिका आउने छुट पाउनसक्छ ।
अमेरिकाको भिसा फर्म भर्दा आवेदक कम्युनिष्ट पार्टीको सदस्य रहे नरहेकोबारे प्रश्न सोधिन्छ । उक्त प्रश्नमा आवेदन दिने बेलामा सदस्य भए नभएकोमात्र जाँच गरिन्छ । तर अमेरिकी ग्रिनकार्डका लागि फर्म भर्दा भने आवेदनको समय वा अगाडि कम्युनिष्ट पार्टीको सदस्य भए नभएको प्रश्न सोधिन्छ । खासगरी चिन र भियतनाममा रहेका कम्युनिष्ट पार्टीहरुलाई लक्ष्यित गरेको यो व्यवस्था गरिएको हो ।
नेपालका कम्युनिष्टहरु अधिनायकवादी नरहेको र प्रजातान्त्रिक अभ्यासमा रहेकाले यसबारे प्राय छुट दिने गरिएको छ । नेपालको कतिपय व्यक्तिले कम्युनिष्ट पार्टीको सदस्यता रहेको बताएमा त्यस्तो व्यक्ति अमेरिकाका लागि खतरा भए नभएको बुझेरमात्र भिसा जारी गरिन्छ । त्यस्तो व्यक्तिका हकमा भिसा जारी गर्न केही लामो समय लाग्नसक्छ ।






