अहिलेको नेतृत्वले नयाँ पुस्तालाई पार्टी नेतृत्व जिम्मा लगाउनुपर्ने – नेता रिजाल


प्रकाशित मिति : १४ माघ २०७४, आइतबार

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले अब काँग्रेसले संघीयतामा रहेर प्रदेश तहबाटै संगठनको हेरफेर गर्नुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेता रिजालले यसका लागि महासमितिको बैठक तत्काल बोलाउनुपर्ने बताउनुभयो ।

बैठकले पार्टीको विधान परिवर्तन गरेर अघि बढ्नुपर्ने बताउँदै नेता रिजालले आगामी महाधिवेशनबाट अहिलेको नेतृत्वले नयाँ पुस्तालाई पार्टी नेतृत्व जिम्मा लगाउनुपर्ने बताउनुभयो ।

काँग्रेस अब कार्यकर्तामा होइन आम जनतामा आधारित, आम जनताको पार्टीको रुपमा रुपान्तरित हुनुपर्नेमा नेता रिजालले जोड दिनुभयो ।

सरकार गठनपछि काँग्रेस प्रतिपक्षको भूमिकामा बसेर देश विकासका लागि रचनात्मक भूमिकामा रहने उहाँले बताउनुभयो । वाम गठबन्धनलाई काम चलाउ सरकारले गरेका निर्णयमा भन्दा पनि सरकार गठन प्रक्रियामा अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रियसभाको निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ । राष्ट्रियसभाको निर्वाचनलगत्तै नयाँ सरकार निर्माण हुने पनि उहाँले बताउनुभयो ।

मुलुकको सीमा मिचिएको विषय एकदमै जटिल भएका कारण यसका विषयमा सबै दलले गम्भीर भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com