मुला उत्पादनमा वृद्धि


प्रकाशित मिति : १६ पुस २०७४, आइतबार

पाँचथरको फिदिम नगरपालिका–३, को मझुवा, सिलौटी, डोजरडाँडा, सिम्ले क्षेत्रमा मुलाको उत्पादन वृद्धि भएको छ ।

यहाँका कृषकले व्यावसायिकरुपमै मुला खेती गर्न थालेकाले गत वर्षभन्दा यसपालि ५० प्रतिशतभन्दा बढी मुला उत्पादन भएको किसानले बताएका छन् ।

अर्गानिक मुलाले राम्रो बजार पाउँदै गएपछि यसको खेतीमा किसानको आकर्षण बढेको हो । यहाँ फलेको मुला पोहोर २०० गाडी निर्यात भएकामा यो वर्ष ४०० गाडी निर्यात भएको छ ।

चार सय गाडीबाट एक हजार मेट्रिक टनसम्म मुला बिक्री भएको स्थानीय व्यापारी मचिन्द्र सुनुवार मुखियाले सुनाउनुभयो । उहाँले भन्नुभयो, “मुला प्रतिकिलो रु १५ देखि १९ सम्ममा बिक्दा रु एक करोड ८० लाख बढी आम्दानी भएकोे छ ।”

यहाँ उत्पादित मुला फिदिमको शनिबारे बजार, इलामको पशुपतिनगर, झापा, विराटनगर, भारतको सिलगुडीसम्म पुग्ने सम्बद्ध व्यापारी बताउँछन् । यस क्षेत्रमा पाँच वर्षअघिदेखि थालिएको मुला खेतीले राम्रो बजार पाउँदा अहिले यसको बिस्तार भएको हो । मेची राजमार्ग आसपासका मझुवा, सिलौटी, डोजरडाँडा, सिम्लेका १५० भन्दा बढी परिवारका किसानले आलुपछि राम्रो आम्दानीको स्रोतका रुपमा मुला रोप्ने गरेका हुन् ।

मुला खेती थालेदेखि परिश्रमको फल छिटो खान चाहे मुलै रोप्नु पर्दोरहेछ भन्ने ज्ञानसमेत मिलेको सुस्मिता सुनुवारले सुनाउनुभयो । मुला रोपेको दुई महिनाभित्रमा फलेर विकी सक्ने, सिँचाइको आवश्यकता नपर्ने र फुर्फुराउँदो माटो रहेको ओसिलो स्थान राम्रो हुने हुँदा मझुवा, सिलौटी, डोजरडाँडा, सिम्लेमा मुला फस्टाउने गरेको छ ।

मुला रोपेपछि सामान्य गोडमेलबाहेक अरु झन्झट गरिरहनु नपर्ने हुनाले यसलाई सरल खेती मानिन्छ । सजिलो खेती भएका कारण यसप्रति प्रायः गृहिणी महिलाको बढी लगाव रहेको पाइएको छ ।

अलैँची जोन कार्यक्रम सञ्चालन भएपछि फालेलुङका कृषक उत्साहित

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँचथरको फालेलुङ गाउँपालिकास्थित वडा नं १ र २ तथा ६ र ७ मा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ अलैँची जोन कार्यक्रम सञ्चालन भएपछि त्यस क्षेत्रका अलैँची कृषक उत्साहित भएका छन् ।

यो कार्यक्रम सञ्चालन भएपछि अहिले कृषकले पहिलेको तुलनामा गुणस्तरीय अलैँची उत्पादन गर्न थालेका छन् भने उत्पादनमा समेत वृद्धि भएको उक्त एकाइका वरिष्ठ कृषि अधिकृत कमलेश तिवारीले बताउनुभयो ।

फालेलुङको याङ्तारु अलैँची जोन सञ्चालक समितिमार्फत त्यहाँ आबद्ध कृषक समूहलाई कार्यालयले आवश्यक कृषि सामग्री प्रदान गर्ने गरेको छ । याङ्तारु अलैँची जोन सञ्चालक समितिका व्यवस्थापक टीका रिजालले भन्नुभयो, “पहिल्यै हामी परम्परागत प्रणालीबाट अलैँची खेती गर्ने गथ्र्यौं, तर अहिले नयाँ प्रविधिमा आधारित अलैँची खेती गर्न थालेका छौँ, हामी धेरै उत्साहित छौँ ।”

अहिले अलैँचीको उत्पादनसँगै यो कार्यक्रम सञ्चालन भएका कृषकले उत्पादन गरेको अलैँचीको भाउसमेत अन्य अलैँचीको तुलनाममा प्रतिमन रु दुई हजारभन्दा बढी रहेको उहाँले बताउनुभयो ।

अहिलेसम्म कार्यक्रम सञ्चालन भएका चार वडामा ५० वटा समूहका दुई हजारभन्दा बढी कृषक लाभान्वित भएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म त्यस वडामा कृषकलाई आवश्यक हुने सामग्री लगभग पाइप ५० हजार मिटर, दुई वटा ट्र्याक्टर, धुवाँरहित सुधारिएको भट्टी, ४० वटा डिजिटल तराजु, विषादी हाल्ने मेसिन गट स्प्रेयर २५ वटा, मिनी स्प्रेयर ४० वटा मल ५० प्रतिशत अनुदानमा १० हजार क्विन्टल उपलब्ध गराउनुका साथै विभिन्न तालीम गोष्ठी आयोजना पनि गरिएकोे व्यवस्थापक रिजालले बताउनुभयो ।

यस आर्थिक वर्ष २०७४÷७५ अन्तर्गत दोस्रो चौमासिक कार्यक्रमअन्तर्गत पुस अन्तिममा पनि कृषकलाई अलैँची बगानमा उपयोगी हुने सामग्री प्रदान गर्न लागिएको कृषि अधिकृत प्रकाश विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अब चाँडै १५ वटा कृषक समूहलाई फुट स्प्रेयर, न्याप स्कापक स्प्रेयर ४० थान ३० वटा कृषक समूहलाई, यस्तै जैविक तथा रासायनिक विषादी झोल मल इत्यादि अलैँची बगानमा छर्नका लागि प्रदान गरिनेछ ।

त्यसैगरी पाँच वटा प्लास्टिक कार्यक्रम, २५ थान डिजिटल तराजु, रोग किरा न्यूनीकरणका लागि विभिन्न किसिमका जैविक तथा रासायनिक विषादी प्रयोग गर्न सिकाइ वितरण गरिनेछ । माटो परीक्षण शिविर सञ्चालन गरी ५०० कृषकको अलैँची बगानको माटो परीक्षण तथा उन्नत प्रविधि प्रदर्शन, २५० जनाको भकारो सुधार कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com