खसोखास १५ वर्षमा प्रवेश, मे ३ मा विशेष कार्यक्रम गर्ने, स्मारिका प्रकाशनको तयारी


प्रकाशित मिति : माघ ५, २०८२ सोमबार

न्युयोर्कबाट सन् २०१२ देखि निरन्तर प्रकाशित हुँदै आएको खसोखासले १५ वर्ष प्रवेशको अवसरमा आगामी मे ३ मा विशेष सार्वजनिक कार्यक्रम आयोजना गर्ने भएको छ । सन् २०१२ को जनवरी १५ बाट खसोखासको प्रकाशन आरम्भ भए तापनि हरेक वर्ष गरिने विशेष सार्वजनिक कार्यक्रम भने अबदेखि मे ३ मा गर्ने निर्णय खसोखास टिमको बैठकले शनिबार गरेको छ । मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस समेत हो ।

सन् २०१३ को मे ३ मा खसोखासको अनलाइन संस्करणको औपचारिक शुभारम्भ गरिएको थियो भने ह्वाइटहिमालबाट खसोखासको नामाकरण पनि यसै दिन गरिएको थियो । जनवरी १५ मा न्युयोर्कमा कार्यक्रम गर्दा मौसमको प्रतिकूलता समेत हुने भएकाले खसोखासको नामाकरण गरिएको दिन र अनलाइन संस्करण सुरु भएको दिनमै हरेक वर्ष विशेष कार्यक्रम गरिने निर्णय गरिएको हो । खसोखास १५ वर्ष प्रवेश गरेको अवसरमा यसपटक विशेष स्मारिका समेत प्रकाशित गरिने भएको छ, जसको लोकार्पण पनि मे ३ मै गरिने भएको छ । स्मारिका परम्परागत भन्दा नेपाली समुदायका लागि अध्यागमन, ट्याक्स, हाउजिङ लगायतका कैयौं विषयमा स्रोतपूर्ण बनाइने भएको छ ।

खसोखास १५ वर्ष प्रवेश गरेको अवसरमा शनिबार खसोखासको अमेरिकामा रहेको टिमको समीक्षा बैठक बसेको थियो भने १५ वर्ष प्रवेशको केक समेत काटिएको थियो । शनिबारको बैठकले अब हरेक महिना कम्युनिटी राउण्डटेबल समेत गर्ने निर्णय गरेको छ । अमेरिकी अध्यागमन, हाउजिङ, हेल्थकेयर, शिक्षा, ट्याक्स लगायत समुदायलाई अत्यावश्यक पर्ने विषयमा कम्तीमा महिनाको एकपटक राउण्डटेबल आयोजना गर्ने र उक्त कार्यक्रम ‘कम्युनिटी कर्नरस्टोन’ कार्यक्रममार्फत अडियो र भिडियोमा प्रसारण गर्ने निर्णय गरिएको थियो । यो कार्यक्रम खसोखास सम्पादक सुरेश शाहीको नेतृत्वमा अर्का सम्पादक दीपक परियार र फोटोग्राफर राजन काफ्लेको टिमले गर्नेछ ।

त्यस्तै, न्युयोर्क फल्चालाई भर्टिकल भिडियोमार्फत प्रस्तुत गरिने भएको छ । न्युयोर्कको नेपाली समुदायका साना व्यवसायहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिने यो कार्यक्रममा अन्य क्षेत्रका व्यक्तिहरूलाई पनि क्रमशः समेटेर अगाडि बढ्ने निर्णय गरिएको छ । न्युयोर्क फल्चाको नेतृत्व खसोखास सम्पादक दीपक परियारले गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समीक्षा बैठकमा खसोखासका प्रधानसम्पादक किशोर पन्थीले २०२५ मा खसोखासको पेजभ्युज र भिडियो भ्युज झन्डै ७० मिलियन पुगेको जानकारी दिँदै यो सन् २०२० को १२ मिलियनको तुलनामा झन्डै ५ सय प्रतिशत बढी भएको बताएका थिए । सन् २०२५ मा खसोखास टिम अमेरिकन पत्रकार र भिडियाका संस्थाहरूले आयोजना गरेका ७ वटा कार्यक्रममा सहभागी भएको र २ वटा कार्यक्रममा प्यानलिस्ट र प्रस्तुतकर्ताका रूपमा सहभागी भएको विवरण पनि प्रधानसम्पादक पन्थीले दिएका थिए । त्यसबाहेक विभिन्न एआई लगायतका विषयमा फेलोसिप र तालिमहरूमा खसोखास टिम सहभागी भएको थियो ।

खसोखासले आम्दानीका स्रोतमा गरेको विविधीकरणबारे पनि बैठकमा छलफल गरिएको थियो । हाल खसोखासले ७ प्रकारका आम्दानीका विधिहरू अपनाउँदै आएकोमा अबका दिनमा यसलाई अझ विविधीकरण गर्ने निर्णय गरिएको छ । खसोखासले सन् २०२५ मा अमेरिकाको लोकल मिडिया एसोसिएसनबाट रिभेन्यु र स्पोन्सरसिपमा उत्कृष्ट आइडियाका लागि डिजिटल इनोभेसन अवार्ड समेत प्राप्त गरेको थियो । हाल खसोखासका टिकटकमा ७८ हजारभन्दा बढी फलोअर्स छन् भने फेसबुकमा ३ लाख २५ हजारभन्दा बढी फलोअर्स रहेका छन् । त्यस्तै, युट्युबमा १६ हजारभन्दा बढी सब्सक्राइबर रहेका छन् । अब युट्युबमा पनि खसोखासको उपस्थिति बढाउने निर्णय गरिएको छ ।

खसोखास सम्पादक सुरेश शाहीले बैठकमा भर्टिकल भिडियोहरू युट्युबमा समेत बढाउनुपर्ने र मानसिक स्वास्थ्यका बारेमा पनि कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकताबारे बोलेका थिए । साथै उनले आगामी दिनमा समुदायका लागि कस्ता विषयहरू महत्वपूर्ण र जानकारीमूलक हुन्छन् भन्ने विषयमा विस्तृत विवरण प्रस्तुत गर्दै अफवाहहरूका विरुद्ध लड्न र समुदायमा सही जानकारी प्रदान गर्नका लागि भर्टिकल भिडियोहरू प्रभावकारी भएको चर्चा गरेका थिए । खसोखासले सन् २०२५ मा टिकटक र रिल्समा ११५० भन्दा बढी भर्टिकल भिडियोहरू प्रकाशित गरेको छ, जसमा सुरेश शाहीले प्रस्तुत गर्ने दैनिक अपडेट र कानुन व्यवसायीहरूसँग प्रधानसम्पादक किशोर पन्थीले गरेका संवादका अंशहरू समेटिएका छन् । खसोखासले २०२५ मा कानुन व्यवसायीहरूसँग १२ वटा भिडियो लाइभ सेसन गरेको थियो ।

त्यस्तै, बैठकमा खसोखासमा एआईको नैतिक प्रयोगलाई बढावा दिने सन्दर्भमा पनि छलफल भएको थियो । खसोखासले लामो समयदेखि डाटा पत्रकारितालाई प्राथमिकता दिँदै आएकोमा डाटा भिजुअलाइजेशनलाई बढावा दिन सम्पादक राजन थपलियाको नेतृत्वमा विभिन्न नीतिहरू अपनाउने निर्णय गरिएको छ । साथै खसोखासका लाइभ सेसनहरूमा पाठकहरूले प्रश्न राख्ने क्रममा व्यक्तिगत विवरणहरू समेत सार्वजनिक हुने गरेकोमा पाठकहरूको गोपनीयता कायम राख्न गोप्य रूपमा प्रश्न सोध्न मिल्ने डेडिकेटेड च्यानल निर्माण गर्ने निर्णय पनि गरिएको छ । बैठकमा खसोखास सम्पादक राजन थपलियाले नेपाली समुदायभन्दा बाहिरका समुदायलाई पनि समेट्ने योजना प्रस्तुत गरेका थिए भने फोटोग्राफर राजन काफ्लेले भिडियोको गुणस्तर वृद्धिमा जोड दिएका थिए ।

बैठकको समापनमा खसोखास प्रधानसम्पादक किशोर पन्थीले खसोखासको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिएका थिए । साथै खसोखासका शुभचिन्तक, पाठक, विज्ञापनदाता लगायत अमेरिकामा रहेको सम्पूर्ण नेपाली समुदाय नै खसोखासको यात्राका सहयात्रीहरू रहेको उल्लेख गर्दै खसोखास आगामी दिनमा पनि समुदायको समाचार सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com