उदयपुरको सुनकोसी गाँउपालिकाका महिलामा पाठेघर खस्ने समस्या वृद्धि
प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार
पुस १३, उदयपुर । उदयपुरको सुनकोसी गाँउपालिकामा रहेका महिलामामा पाठेघर समस्या अत्याधिक देखिएको छ। ओरेक नेपाल र जिल्ला जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोग तथा सुनकोसी गापा स्वास्थ्य तथा सरसफाई एकाईको आयोजनामा गरिएको स्वास्थ्य शिविर ६९ प्रतिशत महिलामा समस्या देखिएको हो।
शिविरमा जाँच गराउन आएका जम्मा २ सय ७७ जना महिलामध्ये १ सय ९० जना पाठेघरसम्बन्धी समस्या देखिएको छ। शिविरमा खटिएका जिल्ला अस्पताल उदयपुरका डाक्टर विशाल देवले अधिकांश महिलामा पाठेघरको संक्रमण रहेको बताए। ‘शिविरमा आउने महिलालाई आधार मान्दा यस गापामा धेरै रहेको सहजै अनुमान लगाउन सकिन्छ,’ डा देवले भने, ‘धेरै संख्यामा महिलाहरु समस्या लुकाएर बस्ने गरेको पनि देखियो।’ दुई दिने शिविरमा १ सय ६ जनाको पाठेघर खसेको भेटिएको छ। जसमध्ये ६० जनाको रिङ राखेर उपचार गर्नुपर्ने, १७ जनालाई पाठेघरको क्यान्सरको सक्रमण हुन सक्ने, र ५० जनाको पाठेघरको अप्रेसन नै गर्नुपर्ने विरामी फेला परेको उपचारमा संलग्न डाक्टर देवले बताए। खतरनाक समस्या देखिएका बिरामी महिलाहरुलाई थप उपचार गर्न जिल्ला अस्पतालमा नै शिविर सञ्चालन गर्ने या अन्यत्र उपचार गर्न पठाउने आयोजकले तयारी थालेको जानकारी दिएको छ।