श्रीमान्–श्रीमती विवादले घर जल्यो, दुई लाखभन्दा बढीको क्षति
प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार
१३ पुस, ताप्लेजुङ । भनाइ नै छ– लोग्ने–स्वास्नीको झगडा, परालको आगो तर ताप्लेजुङका
एक दम्पतिले यो भनाइलाई गलत सावित गरिदिएका छन् । श्रीमान्–श्रीमतीबीचको सामान्य विवादले नयाँ मोड लिँदा बुधबार एक घर जलेर खरानी भएको छ ।
घटना ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचाको हो ।
राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुर सावादेन ९लिम्बू० ले घरमा आगो सल्काएको स्थानीय केशर बराइलीले बताएका छन् । आगलागी हुनासाथ स्थानीयले नियन्त्रणको प्रयास गरे पनि समयमा नियन्त्रण नहुँदा घर पूर्णरुपमा जलेको बताइएको छ ।
आगलागी भएको दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो ।
राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन ९लिम्बू० को घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
बराइलीका अनुसार, घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ ।
आगलागी पीडित परिवार भने छिमेकीको शरण लिएर बसेको बताइएको छ ।
यता प्रहरीले भने घटनाका विषयमा बिहानमात्र जानकारी भएकाले त्यसतर्फ अहिले प्रहरी पठाइएको र घटनाका सम्बन्धमा थप बुझ्ने जनाएको छ ।





