‘अब संक्रमणकालको अन्त्य भयो’


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभाको चुनाव सम्पन्न भएको विषयलाई ठूलो राजनीतिक उपलब्धि भन्दै शुक्रवारका पत्रपत्रिकाले आफ्ना सम्पादकीयहरु लेखेका छन्।

चुनाव सम्पन्न हुनुलाई संविधान कार्यान्वयनमा महत्वपूर्ण उपलब्धी प्राप्त भएको भन्दै उनीहरुले माओवादी सशस्त्र द्वन्द्वसँगै शुरु भएको राजनीतिक संक्रमणकाल अन्त्य भएको विश्वास गरेका छन्।

विगतको अस्थीर राजनीतिको मार्गमा अब देशलाई नडोर्याउन उनीहरुले सुझाव दिएका छन्।

एक वर्षभित्र स्थानीय, प्रदेश र केन्द्रीय निकायका चुनाव सम्पन्न गराएकोमा उनीहरुले निर्वाचन आयोग र अन्य सम्बद्ध निकायको प्रशंसा पनि गरेका छन्।

राजनीतिक फड्को

कान्तिपुर दैनिकले ‘महत्वपूर्ण राजनीतिक फड्को’ शीर्षक दिएर एउटा लामो सम्पादकीय लेखेको छ।

उसले भनेको छ, यो चुनावको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको १२ बुँदे समझदारी र त्यस लगत्तै भएका राजनीतिक संक्रमणको सफलतापूर्वक समापन हुनु हो।

पछिल्लो एक दशकमा नेपालले दुईवटा संविधानसभा र केन्द्र, प्रदेश र स्थानीय तहको चुनाव सम्पन्न गराएको उल्लेख गर्दै उक्त सम्पादकीयले छोटो अवधिमा धेरै चुनावको सफल अभ्यास र आयोजना नेपाली लोकतन्त्रको बलियो पक्ष भएको उल्लेख गरेको छ।

उसले लेखेको छ, “अब संक्रमणकाल बाँकी नै छ भनेर आ-आफ्ना स्वार्थवश उद्योग धन्दा चलाइरहन चाहने प्रवृत्ति निरुत्साहित हुनुका साथै इतिहासतिर फर्केर राजतन्त्र या एकात्मक व्यवस्था बौराउन खोज्ने सपनाहरुको पनि अन्त्य भएको छ। अब पछाडि फर्कने बाटो बन्द भएको छ र अगाडि बढ्ने राजमार्गहरु सामुन्ने छन् जसमा ठीक ढंगले गाडी चलाउने र मुलुकलाई समृद्धितिर लैजाने दायित्व दलहरुको हो।”

मतदान

नागरिक दैनिकले ‘नयाँ अध्याय’ शीर्षकमा सम्पादकीय लेखेको छ र चुनावमा देशवासीलाई देखाइएका समृद्धिका सपना नै मुलुकको गन्तब्य हुनुपर्ने उल्लेख गरेको छ।

उसले लेखेको छ, विकास निर्माणका कामले तीव्रता पाउनुसँगै मुलुक आर्थिक रुपमा अघि बढ्यो भने हाम्रो पद्धति बलियो हुन्छ र मुलुकमा पनि दह्रिलो लोकतन्त्र बन्नेछ।

सरकारी अखबार गोरखापत्र दैनिकले ‘स्थायित्व र समृद्धिको युग प्रारम्भ’ शीर्षकमा सम्पादकीय लेख्दै अब चुनावको सफलताले आम नागरिकको लोकतन्त्रप्रतिको आस्था र आकाङ्क्षालाई बलियो ढङ्गले प्रकट गरेको जनाएको छ।

उसले लेखेको छ, “२०४८ सालपछि राजनीतिक अस्थिरताले र २०६३ सालपछि पनि राजनीतिक संक्रमणको अवस्थाले जनतालाई निराशा दिएको छ। अहिलेसम्म राजनीतिक मुद्दामा अलमल्लिए पनि अब आर्थिक विकास र समृद्धि मात्रै एक मुद्दा बन्नुपर्छ।”

‘उत्साहजनक मतदान’ शीर्षकमा लेखिएको सम्पादकीयमा अन्नपूर्ण पोष्ट दैनिकले सफलतापूर्वक चुनाव गराएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेको छ।

उसले लेखेको छ, “कुनै समय प्रजातन्त्र राजालाई बुझाएको आरोप लागेका देउवाले आफू र आफ्नो पार्टी लोकतन्त्रको पक्षधर भएको फेरि पुष्टि गरेका छन्।”

सच्चिने मौका

अंग्रेजी दैनिक ‘द काठमाण्डू पोष्ट’ले संक्रमणकालमा पनि बाटो भेट्टाएको आशय सहितको शीर्षकमा सम्पादकीय लेखेको छ जसमा नेपालले पछिल्ला २६ वर्षमा २७ वटा सरकार बनाएको उल्लेख गर्दै यसपालि नयाँ पुराना दुवै खालका दलले राजनीतिक स्थिरता र समृद्धिको वाचा गरेर चुनाव लडेको सम्झना गरिएको छ।

उसले अगाडि लेखेको छ, अब दल र तीनका नेताहरुले सबै खालका राजनीतिक प्रणालीमध्ये लोकतन्त्रमा आफूलाई सच्च्याउने सबैभन्दा धेरै स्थान हुन्छ भनेर पुष्टी गर्नुपर्छ।

मतदान

‘निर्वाचनपछिको आशा’ शीर्षकमा नेपाल समाचारपत्र दैनिकले पनि मिल्दो जुल्दो धारणा राखेको छ।

उसले लेखेको छ, “विगतमा सत्तास्वार्थका कारण राजनीतिक स्थायित्व प्राप्त हुन सकेको थिएन अब दलका नेताहरुले विगत सम्झेर सुध्रनुपर्छ र जनताका आशा अपेक्षा पूरा गर्नैपर्छ।

कारोबार दैनिकले आफ्नो सम्पादकीयमा नेपाली राजनीतिमा बढ्दै गएको ‘डनवाद र धनवादका कारण’ समस्याहरु झन् जटिल बन्न सक्ने भन्दै दलहरुले सावधानीपूर्वक अघि बढ्नुपर्ने र विपक्षीलाई समेत विश्वासमा लिएर देशलाई समृद्धितर्फ डोर्याउनुपर्ने उल्लेख गरेको छ।

नयाँ पत्रिका दैनिकले सुरक्षा जोखिमको परवाह नगरी जनताले मतदान गरेको उल्लेख गर्दै अब परिणाम दिने पालो दलहरुको भएको विचार राखेको छ।

आफ्नो सम्पादकीयमा उसले लेखेको छ, “आतंकको कालो छायामुनी पनि निर्धक्क चुनावमा भाग लिएर जनताले आफ्नो भूमिका पूरा गरेका छन्, अब त्यसै गरी आफ्नो दायित्व पूरा गर्ने पालो राजनीतिक दलहरुको हो।”

सरकारी अंग्रेजी अखबार ‘द राइजिङ नेपाल’ले चुनावी खर्चबारे सम्पादकीय लेखेको छ र चुनावमा अस्वभाविक रुपमा खर्च गर्ने प्रवृत्तिले भ्रष्टाचार र राज्यका श्रोतहरुको दुरुपयोग निम्त्याउन सक्ने औंल्याएको छ।

BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com