१ मंसिर २०८३, मंगलबार| Tuesday, November 17, 2026
अमेरिका

अमेरिकामा दशकौं पछि जन्मजात दादुराको जोखिम, गर्भमै शिशु संक्रमित हुन थालेपछि चिकित्सकहरू चिन्तित

खोप दरमा आएको भारी गिरावटले अमेरिकामा ३० वर्षयताकै उच्च दादुरा प्रकोप, जन्मजात संक्रमणका कारण नवजात शिशु र गर्भवतीहरू उच्च जोखिममा

Photo: Omar Lopez/ Unsplash

दशकौंपछि पहिलो पटक अमेरिकी चिकित्सकहरूले जन्मजात दादुराको संक्रमण लिएर जन्मने शिशुहरूको संख्या बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गर्भवती महिलाबाट गर्भमा रहेको भ्रूणमा दादुराको भाइरस सर्दा जन्मजात दादुरा हुने गर्दछ, जसले नवजात शिशुमा गम्भीर स्वास्थ्य जटिलता निम्त्याउनुका साथै ज्यानसमेत लिन सक्छ।

सोमबार एक मेडिकल जर्नलमा प्रकाशित प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०२५ को सुरुदेखि गत सेप्टेम्बरको अन्त्यसम्ममा अमेरिकामा फैलिएको ठूलो दादुरा प्रकोपका क्रममा १३ वटा जन्मजात दादुराका केसहरू ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’मा दर्ता भएका छन्। युनिभर्सिटी अफ मिनेसोटाको संक्रामक रोग अनुसन्धान तथा नीति केन्द्रका निर्देशक माइकल ओस्टरहोमले यसलाई “पूर्ण रूपमा नयाँ परिघटना” को संज्ञा दिएका छन्।

खोप लगाउने दरमा आएको गिरावटले भाइरसको फैलावटलाई यति तीव्र बनाएको छ कि प्यान अमेरिकन हेल्थ अर्गनाइजेसनले सन् २००० देखि अमेरिकाले कायम राखेको ‘दादुरा-मुक्त’राष्ट्रको मान्यता गुमाएको औपचारिक घोषणा गर्ने तयारी गरेको छ। सीडीसीका अनुसार पछिल्लो दुई वर्षमा अमेरिकामा ७,५०० भन्दा बढी दादुराका बिरामी भेटिएका छन्। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको संक्रामक रोग समितिका सदस्य डा. एडम र‍्याटनरले विगत ३० वर्षयताकै उच्च स्तरमा दादुरा देखिएको बताउँदै संक्रमण नियन्त्रणमा रहँदा यस्तो अवस्था नआउने उल्लेख गरे।

सीडीसीका वैज्ञानिकहरूले तयार पारेको र ‘एनईजेएम एभिडेन्स’मा प्रकाशित जनस्वास्थ्य चेतावनीअनुसार गर्भावस्थामा दादुरा पुष्टि भएका ११२ जना महिलामध्ये प्रायः सबैले खोप नलगाएका वा खोप लगाएको बारे अनभिज्ञ रहेका थिए। यसै सन्दर्भमा पेडियाट्रिक्स एकेडेमीले चिकित्सकहरूका लागि निर्देशिका जारी गरिसकेको छ भने देशकै सबैभन्दा ठूलो प्रकोप झेलिरहेको पेन्सिलभेनिया राज्यको स्वास्थ्य विभागले पनि स्वास्थ्यकर्मी, विद्यालय र बाल हेरचाह केन्द्रहरूका लागि विशेष सचेतना सूचना जारी गरेको छ।

विगत २५ वर्षमा खोप अभियानको सफलताका कारण दादुरा नियन्त्रणमा रहँदा प्रजनन उमेरका धेरै महिलाहरूले न त खोप लगाए, न त उनीहरूमा प्राकृतिक रूपमा रोगको संक्रमण नै भयो। पछिल्लो समय खोपप्रतिको शंका र हिचकिचाहटका कारण खोप दर घट्दा ती महिलाहरू दादुराको उच्च जोखिममा परेको ओस्टरहोमको भनाइ छ।

चिकित्सकहरूका अनुसार गर्भवती हुनुअघि नै दादुरा, हाँडे र रुबेला विरुद्धको ‘एमएमआर’खोप लगाउनु नै यसको सबैभन्दा उत्तम रोकथाम हो। यसले आमाको साल मार्फत शिशुमा एन्टिबडी पुर्‍याउने भएकाले जन्मिएको केही महिनासम्म शिशुलाई सुरक्षित राख्छ। गर्भावस्थामा यो खोप दिन नमिल्ने भएकाले खोप नलगाएका महिलाहरू संक्रमणको सम्पर्कमा आएमा ६ दिनभित्र एन्टिबडीयुक्त औषधि दिन सकिन्छ।

गर्भावस्थाको अन्तिम चरणमा आमालाई दादुरा लागेमा २५ देखि ३० प्रतिशत शिशुमा संक्रमण सर्ने सम्भावना रहन्छ। जन्मजात दादुरा भएका शिशुमा जन्मनेबित्तिकै ज्वरो आउने, जन्डिस देखिने र शरीरमा दादुराका बिमिरा आउने जस्ता लक्षण देखिन्छन्। यसले निमोनिया, मस्तिष्क सुन्निने र वर्षौंपछि देखिने तर प्रायः प्राणघातक मानिने ‘एसएसपीई’ नामक मस्तिष्क रोग निम्त्याउन सक्छ। डा. र‍्याटनरका अनुसार जन्मजात दादुरा भएका बालबालिकामा ‘एसएसपीई’ को जोखिम उच्च हुनुका साथै यो रोग छिटो देखिने संकेतहरू फेला परेका छन्।

समुदायमा प्रकोप रोक्न ९५ प्रतिशत एमएमआर खोप दर आवश्यक मानिन्छ। तर सीडीसीका अनुसार सन् २०२५-२६ मा अमेरिकाका किन्डरगार्टेन तहका बालबालिकामा यो दर घटेर ९२.४ प्रतिशतमा झरेको छ। नियमित रूपमा १२ देखि १५ महिनाको उमेरमा मात्र पहिलो एमएमआर खोप दिइने भएकाले खोप लगाउने उमेर नपुगेका साना शिशुहरू अहिले सबैभन्दा बढी असुरक्षित बनेका छन्। डा. र‍्याटनरले खोप लगाउन योग्य सबैलाई खोपको दायरामा ल्याउन बालरोग विशेषज्ञ र जनस्वास्थ्य संस्थाहरूले कडा मेहनत गर्नुपर्नेमा जोड दिएका छन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →