३० कार्तिक २०८३, सोमबार| Monday, November 16, 2026
अमेरिका

न्युयोर्कका सार्वजनिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो, एक वर्षमै २३ हजारले कमी

जन्मदरमा आएको ऐतिहासिक गिरावटले न्युयोर्कका २५० भन्दा बढी विद्यालय संकटमा परेका छन् भने आगामी दशकमा थप १ लाख १० हजार विद्यार्थी घट्ने प्रक्षेपण गरिएको छ

Photo: Hen Kaznelson/ Unsplash

अमेरिकाको सबैभन्दा ठूलो विद्यालय जिल्ला मानिने न्युयोर्क सहरको सार्वजनिक विद्यालय प्रणालीमा विद्यार्थी भर्ना दरमा भारी गिरावट आएको छ। सहरको शिक्षा विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शैक्षिक सत्रको तुलनामा यस वर्ष २३ हजार विद्यार्थी घटेका छन्।

विभागका अनुसार हाल किन्डरगार्टनदेखि कक्षा १२ सम्म कुल ७ लाख ६६ हजार ९ सय विद्यार्थी अध्ययनरत छन्। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशतले कम हो, जुन विगत पाँच वर्षयताकै सबैभन्दा ठूलो वार्षिक गिरावट हो। पछिल्लो एक दशकमा मात्रै न्युयोर्कका सार्वजनिक विद्यालयहरूले २ लाख विद्यार्थी गुमाइसकेका छन्।

कोरोना महामारीअघि नै सुरु भएको विद्यार्थी घट्ने क्रम महामारीको सुरुवाती वर्षमा अझ तीव्र बनेको थियो। आप्रवासी परिवारहरूको आगमनसँगै केही समय यो क्रम स्थिर देखिए पनि अहिले पुनः ओरालो लाग्न थालेको छ। विशेषगरी घट्दो जन्मदर र सहरको महँगी थेग्न नसकेर परिवारहरू बाहिरिने क्रम बढेपछि यस्तो अवस्था आएको हो। मेयर जोहरान ममदानीले पनि सहरको महँगी संकट समाधान गर्ने विषयलाई आफ्नो प्रशासनको मुख्य एजेन्डा बनाएका छन्।

सहरका विद्यालय चान्सलर कमार स्यामुअल्सले जन्मदरमा आएको परिवर्तन र बसाइँसराइको असरलाई बेवास्ता गर्न नसकिने बताए। न्युयोर्कवासीले आफ्ना सन्तानका लागि चाहेको जस्तो गुणस्तरीय र सहयोगी विद्यालय निर्माण गर्न म प्रतिबद्ध छु, उनले भने।

सहरको पछिल्लो अभिलेखअनुसार सन् २०२० मा न्युयोर्कको प्रजनन दर सन् १९८० यताकै न्यून बिन्दुमा झरेको थियो। सन् २०२१, २०२२ र २०२३ मा लगातार एक लाखभन्दा कम शिशुको जन्म भएको थियो, जुन सन् १९३६ को महामन्दीपछिकै पहिलो घटना हो। विद्यालय निर्माण प्राधिकरणको प्रक्षेपणअनुसार सन् २०३४–३५ को शैक्षिक सत्रसम्ममा थप १ लाख १० हजार विद्यार्थी घट्न सक्ने देखिएको छ।

विद्यार्थी घट्ने समस्या न्युयोर्कमा मात्र सीमित छैन। सन् २०२५ मा अमेरिकाको राष्ट्रिय प्रजनन दर कीर्तिमानी न्यून स्तरमा झरेपछि देशभरका विद्यालय जिल्लाहरू प्रभावित भएका छन्। देशको दोस्रो ठूलो लस एन्जलस सार्वजनिक विद्यालय प्रणालीमा पनि विद्यार्थी सङ्ख्या ३ लाख ७३ हजारमा झरेको छ, जुन दुई दशकअघिको उच्च बिन्दुभन्दा करिब ५० प्रतिशत कम हो।

न्युयोर्क सहरका नियन्त्रक मार्क लेभिनले यो तथ्याङ्कलाई चिन्ताजनक प्रवृत्ति भन्दै सहरको महँगी र परिवार हुर्काउने क्षमतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

यो नयाँ तथ्याङ्कमा चार्टर र निजी विद्यालयको विवरण समावेश छैन। हाल चार्टर विद्यालयमा १ लाख ५० हजार र निजी विद्यालयमा २ लाख विद्यार्थी अध्ययनरत छन्। निजी विद्यालयमा पनि पछिल्लो दशकमा करिब १० प्रतिशतले विद्यार्थी घटेका छन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

विद्यार्थी सङ्ख्या निरन्तर घटे पनि शिक्षा अधिकारी र जनप्रतिनिधिहरू विद्यालय बन्द गर्न वा बजेट कटौती गर्न हिचकिचाइरहेका छन्। हाल २५० भन्दा बढी विद्यालयमा २ सयभन्दा कम विद्यार्थी छन्, जसका कारण ती विद्यालयमा पाठ्यक्रम र अतिरिक्त क्रियाकलापका विकल्पहरू सीमित भएका छन्। अर्कोतर्फ, शिक्षा विभागको बजेट आठ वर्षअघिको ३३ अर्ब डलरबाट बढेर ४५ अर्ब डलर पुगेको छ।

विद्यार्थी घटेका साना विद्यालयहरू सञ्चालन गरिरहन सन् २०२० यता सहरले १ अर्ब ९० करोड डलर खर्च गरिसकेको छ। गैरपक्षपाती ‘सिटिजन्स बजेट कमिसन’ की अनुसन्धान उपाध्यक्ष एना च्याम्पेनीले सहरले अबको नयाँ वास्तविकताअनुसार नीति परिवर्तन गरी विद्यालय प्रणालीको आकार समायोजन गर्नुपर्नेमा जोड दिएकी छिन्।

प्रशासनले परिवारहरूलाई सहरबाट बाहिरिन नदिन निःशुल्क बाल हेरचाह कार्यक्रम विस्तार गरिरहेको छ। जसअन्तर्गत ममदानी प्रशासनले यस वर्ष २ हजार नयाँ सिट थपेको छ भने आगामी वर्ष थप १० हजार सिट विस्तार गर्ने योजना बनाएको छ। यसैबीच, शिक्षा विभागले करिब १५० विद्यार्थी मात्र रहेका दुई साना विद्यालय बन्द गर्ने र अर्को एक विद्यालय स्थानान्तरण गर्ने प्रस्ताव अघि सारेको छ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →