क्यालिफोर्नियामा अध्यागमन अधिकारीद्वारा गर्भवती महिलालाई पेपर स्प्रे हानेर पक्राउ
श्रीमानले ‘उनी गर्भवती छिन्’ भन्दाभन्दै पेपर स्प्रे प्रहार गरी भुइँमा घोप्टो पारेर हतकडी लगाइएको भिडियो वकिलद्वारा सार्वजनिक
तस्वीर : आइस
अमेरिकी आइसका अधिकारीहरूले एक गर्भवती अमेरिकी नागरिकमाथि मरिचको धुलो प्रहार गरी भुइँमा घोप्टो पारेर लडाएको र पक्राउ गरेको आरोप लागेको छ । पीडितका वकिलले सार्वजनिक गरेको भिडियोमा ती महिलाले आफू गर्भवती रहेको जानकारी गराउँदा-गराउँदै पनि अधिकारीहरूले बल प्रयोग गरेको देखिन्छ ।
वकिल प्याट्रिक कोलासिन्स्कीका अनुसार यो घटना आइतबार क्यालिफोर्नियाको मोडेस्टोस्थित स्टानिस्लास काउन्टी जेल बाहिर भएको हो । २३ वर्षीया लिजबेथ भार्गास एन्ड्रेड, उनका श्रीमान् एडोल्फो तालाभेरा अल्भाराडो र नन्द मोनिका अल्भाराडो संघीय अध्यागमन अधिकारीहरूको गतिविधि नियालिरहेका बेला यो झडप भएको थियो । आइतबार आयोजित पत्रकार सम्मेलनमा भार्गास एन्ड्रेडले आफू मोडेस्टो वरपर आइसका गतिविधि अनुगमन गर्ने एक समूहको सदस्य रहेको बताइन् ।
वकिल कोलासिन्स्कीका अनुसार भार्गास एन्ड्रेड र उनका श्रीमानले अध्यागमन अधिकारीहरूले नन्दको गाडी रोकेको देखेपछि भिडियो खिच्न सुरु गरेका थिए । नन्द मोनिकाका अनुसार अधिकारीहरूले अपरिचित व्यक्तिहरूलाई ओसारपसार गरेको आरोप लगाउँदै जबरजस्ती गाडीभित्र पसेका थिए, जसक्रममा गाडीमा रहेका एक पुरुषलाई पक्राउ गरिएको थियो ।
श्रीमान् तालाभेराले खिचेको भिडियोमा भार्गास एन्ड्रेड पन्छिन खोज्दा अधिकारीहरूले उनलाई पक्राउ गर्ने प्रयास गरेको देखिन्छ । सोही क्रममा एक अधिकारीले उनीतर्फ मरिचको धुलो छर्केको देखिन्छ, यद्यपि ठ्याक्कै कहाँ प्रहार भयो भन्ने भिडियोमा स्पष्ट छैन । भिडियोमा तालाभेराले “उनी गर्भवती छिन्” भनेर चिच्याएको सुनिन्छ । तर, त्यसको केही क्षणमै अधिकारीहरूले भार्गास एन्ड्रेडलाई भुइँमा लडाएर घोप्टो पारेकै अवस्थामा हतकडी लगाएको देखिन्छ ।
वकिलका अनुसार उनलाई आइसको हिरासतमा लगेर केही घण्टा राखेपछि रिहा गरिएको थियो । रिहाइपछि अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनको गर्भमा रहेको शिशु सुरक्षित रहेको चिकित्सकहरूले बताएका छन् ।
भार्गास एन्ड्रेडले अधिकारीहरूले आफूमाथि एक एजेन्टलाई आक्रमण गरेको झूटा आरोप लगाएको बताउँदै त्यसको खण्डन गरेकी छिन् । वकिल कोलासिन्स्कीले उनीविरुद्ध हालसम्म कुनै पनि आपराधिक मुद्दा दायर नभएको जानकारी दिएका छन् ।





