३० कार्तिक २०८३, सोमबार| Monday, November 16, 2026
अमेरिका

हप्तामा एकपटक रेस्टुरेन्टमा खाने अमेरिकीहरूको सङ्ख्या कीर्तिमानी न्यून बिन्दुमा 

Photo: takahiro taguchi/ Unsplash

धेरै अमेरिकीहरूका लागि रेस्टुरेन्टमा गएर खानु अब साप्ताहिक नियमित बानीभन्दा पनि कहिलेकाहीँको विशेष अवसर बन्दै गएको एक नयाँ सर्वेक्षणले देखाएको छ। ग्यालपले गरेको पछिल्लो सर्वेक्षणअनुसार हप्तामा कम्तीमा एकपटक रेस्टुरेन्टमा खाने अमेरिकी वयस्कहरूको सङ्ख्या सन् २०२६ मा घटेर ३९ प्रतिशतमा झरेको छ, जुन संस्थाले तथ्याङ्क राख्न थालेयताकै सबैभन्दा न्यून हो।

गत जुलाईको सुरुमा गरिएको उक्त सर्वेक्षणअनुसार यो दर सन् २०२२ मा ४७ प्रतिशत र महामारीअघि सन् २०१९ मा ५३ प्रतिशत थियो।

मानिसहरूले बाहिर खान पूर्ण रूपमा छाडिसकेका त छैनन्, तर वर्षमा केही पटक मात्र बाहिर खानेहरूको हिस्सा सन् २०१९ यता दोब्बर भई १० प्रतिशतबाट २० प्रतिशत पुगेको छ। केवल ४ प्रतिशत उत्तरदाताले मात्र आफूहरू कहिल्यै रेस्टुरेन्ट नजाने बताएका छन्। यसैबीच, अनलाइनमार्फत किराना सामान अर्डर गर्ने क्रम १५ प्रतिशतले बढेको छ भने हप्तामा पसलमै गएर किनमेल गर्ने दर घटेर ७४ प्रतिशतको कीर्तिमानी न्यून बिन्दुमा पुगेको छ।

घरमै लैजाने अर्डरले पनि यो कमीलाई पूर्ति गर्न नसकेको सर्वेक्षणले देखाएको छ। सन् २०२१ मा ३९ प्रतिशतको उच्च बिन्दुमा पुगेको साप्ताहिक टेकआउट अर्डर अहिले घटेर ३१ प्रतिशतमा झरेको छ, जुन सन् २०१८ कै स्तर बराबर हो।

एटलान्टास्थित ‘टिज ब्रन्च बार’ की सञ्चालिका टेनेसिया मरे बटलरले पछिल्ला चार-पाँच महिनामा आफ्नो व्यवसाय सुस्ताएको महसुस गरेकी छिन्। रेस्टुरेन्टमै बसेर खाने र टेकआउट दुवै खालका ग्राहक घटेको र विशेष गरी हप्ताका कार्यदिनहरूमा व्यापार निकै कम हुने गरेको उनले बताइन्।

उनले भनिन्, पहिलेको तुलनामा रेस्टुरेन्ट आउने मानिसहरूको सङ्ख्या नै घटेको छ।” ग्राहकहरूले अझै पनि लोकप्रिय परिकारहरू अर्डर गर्ने र प्रतिव्यक्ति खर्च उस्तै राख्ने गरे पनि बालबालिकासहित आउने परिवारहरूको सङ्ख्या घटेको उनको अनुभव छ।

आफू हुर्कँदै गर्दा हप्तामा एकपटक बाहिर खान जानु सामान्य मानिने भए पनि अहिले परिवारभन्दा जोडीहरू वा डबल डेटमा आउनेहरू बढी देखिने गरेको उनले बताइन्।

लस भेगासमा ‘बार एन्ड रेस्टुरेन्ट एक्स्पो’ आयोजना गर्ने संस्था ‘फोर्ज’की आतिथ्य उपाध्यक्ष ब्रान्डी र्‍यान्डका अनुसार ग्राहकको निर्णयमा मूल्य र अवसर दुवैले मुख्य भूमिका खेल्छन्। फोर्जले हालै गरेको उपभोक्ता बानीसम्बन्धी सर्वेक्षणमा ४२ प्रतिशत उत्तरदाताले छुट वा विशेष अफरले आफूहरूलाई आकर्षित गर्ने बताएका थिए। बाहिर खान जानुको मुख्य कारणका रूपमा ५३ प्रतिशतले ‘आफैँलाई विशेष व्यवहार गर्न वा रमाइलो गर्न’ उल्लेख गरेका छन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

र्‍यान्डले भनिन्, मानिसहरूले रेस्टुरेन्ट जानै छाडेका होइनन्, बरु कहिले र कहाँ जाने भन्नेमा बढी छनोटपूर्ण बनेका हुन्।टेकआउटले रेस्टुरेन्टको पेय पदार्थ र सामाजिक भेटघाटको जस्तो पूर्ण अनुभव दिन नसक्ने उनको भनाइ छ।

सुस्ताएको व्यापार उकास्न सञ्चालिका बटलरले ५ डलरमा पेय पदार्थ र १० डलरमा खानाका साथै अन्य सस्ता अफरहरू ल्याएकी छिन्। महँगीका कारण ग्राहक तान्न उनले ५ डलरमा एउटा ल्याम्ब चप जस्ता स-साना अफरहरू दिएकी छिन्, जसले गर्दा पूरा सेट खानाभन्दा सस्तो पर्न जान्छ।

ग्यालपका अनुसार बाहिर खाने बानीमा आएको यो गिरावट विशेष गरी मध्यम र उच्च आय भएका वयस्कहरूमा बढी देखिएको छ। साप्ताहिक रूपमा बाहिर खाने दर मध्यम आय भएकाहरूमा ३८ प्रतिशत र उच्च आय भएकाहरूमा ४८ प्रतिशतमा झरेको छ। न्यून आय भएका समूहमा भने यो दर ३२ प्रतिशतमा स्थिर छ, जुन तीनवटै समूहमध्ये सबैभन्दा कम हो।

बटलरका अनुसार मासु, फ्राइङ ब्याटर र प्याकेजिङ सामग्रीहरूको लागत पनि बढेको छ। ग्यालपले मूल्यवृद्धि एउटा कारण हुन सक्ने बताए पनि यही मात्र पूर्ण कारण नभएको उल्लेख गरेको छ। केही रेस्टुरेन्टमा प्रयोग हुने सागसब्जीमा ‘साइक्लोस्पोरा’नामक परजीवीको प्रकोप देखिएको समयमा यो सर्वेक्षण गरिएकाले खाद्य सुरक्षाप्रतिको चिन्ताले पनि नतिजामा प्रभाव पारेको हुन सक्ने ग्यालपको भनाइ छ।

ग्राहकहरू दूषित लेटसको विषयमा चिन्तित थिए र बटलर आफैँ पनि डराएकी थिइन्।समाचारमा जताततै यही आइरहेकाले मलाई चीजबर्गरमा समेत त्यो राख्न डर लाग्थ्यो, उनले भनिन्। उनले आपूर्तिकर्तासँग सोधपुछ गर्ने र लेबल जाँच गर्ने गरेको बताइन्।

गत सेप्टेम्बरमा ग्यालपले गरेको अर्को सर्वेक्षणले खाद्य सुरक्षामा अमेरिकीहरूको विश्वास कीर्तिमानी न्यून बिन्दुमा पुगेको देखाएको थियो, जसमा ७३ प्रतिशतले सरकारी चेतावनी वा फिर्ता बोलाइएका कारण विगत एक वर्षमा निश्चित खानेकुराहरू बहिष्कार गरेको बताएका थिए।

विज्ञहरूका अनुसार अब रेस्टुरेन्टहरूका लागि ग्राहकलाई आफ्नो खर्च सार्थक छ भनेर विश्वस्त पार्नु नै मुख्य चुनौती बनेको छ। र्‍यान्डले विशेष छुट, नयाँ मेनु र भरपर्दो सेवाले ग्राहकलाई फर्काउन मद्दत गर्ने बताइन्। बटलरले पनि ह्याप्पी आवर अफर र नयाँ परिकारबारे ग्राहकलाई जानकारी दिनु आवश्यक रहेको बताउँदै आफ्नो रेस्टुरेन्टको प्रचारका लागि एटलान्टाका बिलबोर्डहरू र विमानस्थलमा समेत विज्ञापन गर्ने योजना बनाइरहेको जानकारी दिइन्।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →