प्राविधिक गडबडीको असर कायमै: अमेरिकामा अझै पनि हजारौँ उडानहरू प्रभावित
Photo: Preston A Larimer/ Unsplash
अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण आइतबार पनि हजारौँ उडानहरू रद्द तथा ढिलाइ भएका छन्। शुक्रबार देशभरका उडानहरूमा लगाइएको दुर्लभ राष्ट्रिय रोकपछि हवाई सेवा अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेको छैन।
यातायात मन्त्री शन डफीले सोमबारसम्ममा मात्र उडानहरू नियमित हुन सक्ने बताएका छन्। उनले भने, हाम्रा विमान र चालक दलका सदस्यहरू निर्धारित स्थानभन्दा बाहिर रहेकाले सामान्य अवस्थामा फर्किन अलि समय लाग्छ। तथ्याङ्कअनुसार आइतबार मात्र ८ हजार ८ सयभन्दा बढी उडान ढिलाइ भएका छन् भने २ हजार ४ सय उडान रद्द गरिएका छन्।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि थप बजेट स्वीकृत गर्न अमेरिकी कङ्ग्रेसलाई आग्रह गरेका छन्।
गत शुक्रबार अमेरिकाबाट उड्ने तालिका रहेका सबै विमानहरू रोकिएपछि देशभरका विमानस्थलहरूमा ठूलो अस्तव्यस्तता सिर्जना भएको थियो। सङ्घीय उड्डयन प्रशासनले शुक्रबार दिउँसो १५:५४ बजे अर्को सूचना जारी नभएसम्मका लागि उडान रोकिएको घोषणा गर्दा ३ हजार ५ सयभन्दा बढी विमान आकाशमै थिए। तीमध्ये केहीलाई अन्य विमानस्थलतर्फ मोडिएको थियो भने केही गन्तव्यमै अवतरण गरेका थिए। उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार शुक्रबारको घटनापछि ८ हजार ५ सय उडान ढिलाइ भएका थिए भने ८ हजार उडान रद्द भएका थिए।
उडान रोकिँदा यात्रुहरू घण्टौँसम्म धावनमार्गमै विमानभित्र थुनिन बाध्य भएका थिए। कतिपय यात्रुहरू विमानस्थलको भुइँमै सुतेर रात बिताउन र एयरलाइन्ससँग सम्पर्क गर्न सङ्घर्ष गरिरहेका देखिन्थे। यसको असर विश्वभरको उडान तालिकामा समेत परेको छ, जसका कारण बेलायत र युरोपबाट अमेरिकाका लागि तय भएका केही उडानहरूसमेत रद्द भएका छन्।
करिब साढे चार घण्टापछि उडानमाथिको प्रतिबन्ध हटाइए पनि त्यसको असर सप्ताहन्तभर देखियो। शनिबार पनि एयरलाइन्सहरूले ५ हजार ९ सयभन्दा बढी उडान रद्द गरे भने ७ हजारभन्दा बढी उडान ढिलाइ भए।
अनुसन्धानकर्ताहरूले समस्याको मुख्य कारण र दोष कसको हो भन्नेबारे छानबिन गरिरहेका छन्। तर, मन्त्री डफीका अनुसार हवाई ट्राफिक नियन्त्रक र पाइलटबीच सञ्चार सम्पर्क गराउने मुख्य प्रणालीमा समस्या आएपछि उडान रोक्ने निर्णय गरिएको थियो। तामाको तारबाट फाइबर प्रविधिमा स्तरोन्नति गर्ने क्रममा आर्कान्सासको एल डोराडोमा जडान गरिएको एउटा कम्प्युटर राउटरले गलत सङ्केत पठाउँदा पूरै नेटवर्क अवरुद्ध भएको उनले बताए।
अमेरिकी हवाई नियन्त्रण प्रणालीमा व्यापक आधुनिकीकरण नगरेसम्म यस्ता समस्या दोहोरिरहने डफीको भनाइ छ। एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा उनले भने, दशकौँदेखि बेवास्ता गरिएको नेटवर्कमा अब लगानी नगरी सुखै छैन, यसलाई पूर्ण रूपमा स्तरोन्नति गर्नुपर्छ।
राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै सांसदहरूलाई तत्काल बजेट विनियोजन गर्न आग्रह गरेका छन्। उनले लेखेका छन्, हामी यसलाई छिटो र प्रभावकारी रूपमा निर्माण गर्न सक्छौँ। यो विश्वकै उत्कृष्ट प्रणाली बन्नेछ। हाम्रो अहिलेको हवाई नियन्त्रण प्रणाली ५० वर्ष पुरानो छ, जुन निकै लाजमर्दो हो। हामीले काम त सुरु गरिसकेका छौँ, तर यसलाई थोपा–थोपा गरेर होइन, एकैपटक पूर्ण रूपमा सम्पन्न गर्नुपर्छ।
विज्ञहरूका अनुसार अमेरिकाले उडान सञ्चारका लागि अझै पनि निकै पुरानो प्रविधि प्रयोग गरिरहेको छ। उड्डयन विश्लेषक माइल्स ओ’ब्रायनले अमेरिकी प्रणालीलाई ‘भत्काउन ठिक्क पारिएको जीर्ण घर’ को संज्ञा दिएका छन्। उनले भने, हामी सबैले देखिरहेका छौँ कि यो अमेरिकाले आफैँ सड्न छोडिदिएको प्रणाली हो। यो सामान्य मर्मतले चल्ने अवस्थामा छैन।





